Main News

प्रहरीको सरुवाले बढायो कोरोना संक्रमणको जोखिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते २०:५६
प्रहरीको सरुवाले बढायो कोरोना संक्रमणको जोखिम (भिडियोसहित)

४ असोज, २०७७ काठमाडौं । हुन त प्रहरीको सरुवा नियमित प्रक्रिया हो । तर अहिले अवस्था अलिक फरक छ । किनकी शान्ति सुरक्षाको जिम्मेवारीका लागि खटिने प्रहरी अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि अग्रपन्तिमा रहेर खटिरहेका छन् ।

त्यसैले उनीहरु संक्रमणको उच्च जोखिममा छन् । यस्तोमा पछिल्लो समय भइरहेका सरुवा, बढुवा र पदस्थापन र मद्दतका लागि अन्तर जिल्ला जाने प्रहरीमा देखिएको संक्रमण एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थालेको छ । जसले गर्दा प्रहरी नै कोरोना भाइरस संक्रमणको कारण बनेका छन् ।

केही समयअघि विराटनगरबाट एक प्रहरी अधिकारी सरुवा भएर महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंमा आए । केही समयमा उनको कोरोना परीक्षण गरियो । र रिपोर्ट पोजिटिभ आयो । उनी मात्र होइन त्यसबीचमा सम्पर्कमा रहेका अरु ८० जनामा पनि संक्रमण देखियो । जसमा ट्राफिक प्रहरी पनि थिए । उनीहरुमा विराटनगरबाट आएका प्रहरी अधिकारीबाटै संक्रमण फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभामा पनि विराटनगरबाटै सरुवा भएर गएका एक प्रहरी अधिकारीबाट अरु धेरैजनामा कोरोना सर्यो ।
महानगरीय प्रहरी बृत्त कालिमाटीका एक प्रहरी अधिकृतको पनि केही समय अघि केन्द्रीय अनुसन्धान व्यूरो सीआइबी सरुवा भयो । जानुअघि उनले स्वाब परीक्षण गरे । परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आयो । यदि उनी परीक्षण नगरी गएको भए उनले सीआइबीमा संक्रमण फैलाउने थिए । जसरी विराटनगरबाट सरुवा भएका प्रहरीले संखुवासभा र काठमाडौंमा सारे । सरुवा भएका प्रहरीसँगै कोरोना फैलिएका यी त केही प्रतिनिधि घट्ना मात्र हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार असार ३० गतेयता प्रशिक्षार्थी, प्रहरी सहायक निरीक्षकसहित १ हजार ४३ जनाको सरुवा र पदस्थापन भएको छ । जबकी यो समयमा सामान्य नागरिकलाई एक जिल्लाबाट अर्को जिल्ला जान रोक थियो । तर प्रहरी एक जिल्लाबाट अर्को जिल्ला मात्र होइन एक प्रदेशबाट अर्को प्रदेशमै सरुवा भएका थिए ।

कति भए सरुवा ?
असार ३० गते : १२७ जना प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक
साउन १५ गते : ७९५ जना प्रहरी हवल्दारको बढुवा र पदस्थापन
भदौ ४ गते : ४९ जना एसपी
भदौ १५ गते : ७२ जना डिएसपी

यसरी सरुवा हुनेहरु कोरोनाको हटस्पट रहेका ठाउँबाट संक्रमण नदेखिएका ठाउँ पुगेका छन् । र उनीहरुबाट धेरै ठाउँमा संक्रमण फैलिएको छ । जसले गर्दा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरीप्रति आम नागरिकमा त्रास उत्पन्न भएको छ । तर प्रहरी प्रधान कार्यालय भने प्रहरीको सरुवाबाटै कोरोना फैलिएको मान्न तयार छैन ।

कोरोना संक्रमण मान्छेले चाहेर फैलाउने हैन । तर देशैभर कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणमा खटिएका प्रहरीको भटाभट सरुवा हुँदा संक्रमणको जोखिम झनै धेरै नै छ । त्यसैले विषम परिस्थितिमा ध्यान दिँदै सरुवालाई वैकल्पिक ढंगले व्यवस्थापन गर्न सकिने बताउनुहुन्छ नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ।

नियमित सरुवा मात्र होइन दरबन्दी रहेका ठाउँमा प्रहरीलाई काजमा भटाभट अर्को ठाउँमा पठाइँदैछ । धेरै ठाउँमा इन्स्पेक्टर र एसएसपीको पनि सरुवाको समय भएको छ । तर उनीहरुको सरुवा हुँदा अनिवार्य गर्नुपर्ने कोरोना परीक्षणलाई ध्यान दिइएको पाइँदैन । सरुवा भएलगत्तै ड्युटीमा खटिनु पर्दा उनीहरुले १४ दिन अनिवार्य क्वारन्टिन पालना गरेको पनि पाइँदैन । त्यसैले जोखिम मोलेर अग्रपंतिमा खटिएका प्रहरीलाई अहिलेको यो कोरोना संकटको समयमा सरुवा नगर्दा पो राम्रो हुन्छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *