Main News

२५ वर्षलाई बन्चरेडाँडा लगभग तयार, जनताको सपना सरकारले पूरा गर्छ: राज्यमन्त्री मानन्धर

हिमालय टिभी
२०७७ असोज ४ गते १३:३७
२५ वर्षलाई बन्चरेडाँडा लगभग तयार, जनताको सपना सरकारले पूरा गर्छ: राज्यमन्त्री मानन्धर

४ असोज, २०७७ काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताउनुभएको छ ।

आइतबार नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साइटको अनुगमनका क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तिब्र हुने र केही वर्षमा मुलुकले कायापलट फेर्ने बताउनुभयो ।

मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको कल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्न आफूहरु लागिपरेको पनि बताउनुभयो ।

मन्त्री मानन्धरले कोभिड संक्रमणका बीच पनि विकासका कामलाई तिब्रता दिइएको बताउँदै आगामी आर्थिक वर्ष सम्ममा धेरै परिणाम देखिने दाबी गर्नुभयो । जनताको चाहाना र समृद्धिको सपना पूरा गर्न आफूहरु निकै मेहनतका साथ लागिरहेको उहाँको भनाई थियो ।

बन्चरेमा कार्तिकदेखि फोहोर
मन्त्री मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साइटको पहिलो फेज निर्माण सकिने बताउँदै कार्तिक पहिलो सातादेखि फोहर विसर्जन हुने जानकारी दिनुभयो ।

कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साईड निर्माण सकिने दाबी गर्नुभयो । सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिनुभयो । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालिन योजनासहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साइट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो ।

कोभिड संक्रमणका कारण केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तिब्रता दिन पनि निर्देशन दिनुभएको छ ।
सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री मानन्धरले काममा ढिलाई भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

केही ठेकेदारको लापरबाहीका कारण सरकारका केही काममा प्रभावकारीता देखिन नसकेकको बताउँदै ढिलाई गरी हुने काममा सम्झौता नहुने प्रस्ट पारे । मन्त्री मानन्धरले गुणस्तर कायम हुनेगरी तोकिएको मितिभित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाइफलाइन भएको बताउनुभयो ।

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साइट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिबद्वता व्यक्त गर्नाभयो । जनताको सरकारले जनताको गुनासो सुन्ने र कार्यान्वयनसमेत गर्छ भन्दै मन्त्री मानन्धरले सरकार जनताको अधिकार रक्षाका लागि सधैं तयार रहेको बताउनुभयो ।

निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशत सम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने जानकारी दिनुभयो । पोखरेलले निर्माणका क्रममा कोभिड र वर्षा बाधक बनेको बताउँदै अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *