Main News

नागरिकमाथि प्रहरी किन यतिधेरै क्रुर र अमानवीय ? काठमाडौंमै महिलामाथि प्रहरीको यस्तो बर्बरता (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३ गते २०:३०
नागरिकमाथि प्रहरी किन यतिधेरै क्रुर र अमानवीय ? काठमाडौंमै महिलामाथि प्रहरीको यस्तो बर्बरता (भिडियोसहित)

३ असोज, २०७७, काठमाडौं । काठमाडौंमा हुने प्रदर्शन रोक्न खटिएका प्रहरी जवान र अधिकारी केहिदिनयता निक्कै आक्रामक बनेका छन् । उनीहरुले प्रदर्शनमा उत्रिएकालाई मात्र हैन, सडक पेटीमा हिँडिरहेका पैदलयात्रु र पत्रकारलाई समेत बाँकी राखेका छैनन् । प्रहरीको यस्तो व्यवहारको अहिले चर्को आलोचना भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन नियुक्तिको माग गर्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा जान लागेका एक युवालाई प्रहरीले बाबरमहलमै निर्मम ढंगले कुट्यो । प्रहरीको कुटाइ खाने तिनै व्यक्ति हुन् जसले छ महिना लामो लकडाउन र निषेधाज्ञामा ड्युटीमा बसेका प्रहरीलाई खाजा र पानी उपलब्ध गराएका थिए ।

उनीमाथि भएको कुटपिटको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको आलोचना भयो । प्रहरी प्रधान कार्यालयले यो घटनालाई गम्भरीतापूर्वक लिएको र छानबिन हुने भन्यो ।

तर यसको २४ घन्टा पनि नबित्दै प्रहरीको उस्तै व्यवहार दोहोरियो । शुक्रबार त प्रहरीले टाउको फुटेर रगतपक्ष भएकालाई समेत यसरी कुट्यो ।

प्रहरी यतिसम्म क्रुर बन्यो । शुक्रबार नै काठमाडौंको बानेश्वरमा संविधान दिवसबारे पत्रकारले प्रतिक्रया माग्दा बोलिरहेका सामान्य नागरिकलाई पनि लखेटी लखेटी कुट्यो । उसले अन्तर्वार्ता लिने पत्रकारलाई समेत बाँकी राखेन ।

कुलमानको समर्थन गरेको नाममा अहिले सडक पेटीमा हिँडेका नागरिक कुट्ने प्रहरी त्यही हो जसले कोरोना कहरका कारण देशमा लकडाउन र निषेधाज्ञा हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुश निकाल्नेलाई सुरक्षा दिएको थियो ।

पछिल्लो पटक दैनिक रुपमा नागरिक कुटिन थालेपछि प्रहरीको आलोचना झनै बढेको छ । र यसमा प्रहरी प्रधान कार्यालयले दोश्रो पटक दोषिमाथि छानविन गर्ने आश्वासन दिएको छ । उसले घटनाबारे छानविन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको छ ।

तर यी घटनाले प्रहरी मात्रै होइन गृहमन्त्रालयमाथि नै प्रश्न उठेको छ । सामन्यत प्रहरी माथिल्लो तहको निर्देशनविना यसरी आक्रामक हुँदैन । सृंखलावद्ध रुपमा भएका घटना हेर्दा गृहमन्त्रालयबाटै यस्तै आदेश दिइएको हो की भन्ने आशंका उत्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *