Main News

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा, सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

हिमालय टिभी
२०७७ असोज ३ गते ७:४२
नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा, सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

३ असोज, २०७७ काठमाडौं । आज संविधान दिवस । नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ ।

२०७२ साल अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । यो अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ ।

दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्लेहरु राखिएका छन् । सबै नागरिकलाई घरघरमा नेपालको झन्डा फहराउन सरकारले अनुरोध गरेको छ । मुलुकभर जनताले आफ्नै शैलीमा झन्डा फहराएर मनाइरहेका छन् ।

कोभिड–१९ महामारीबीच संविधान दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झन्डा फहराऔं’ भन्ने मूल नारा तय गरिएको छ ।

संविधान जारी भएपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू अझै धेरै बाँकी छन् । कानून र आवश्यक संरचना निर्माणका काम पनि पूरा भएका छैनन् । बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संविधान दिवस मनाउनुको औचित्यमाथि नै बारम्बार प्रश्न उठिरहेको छ । संविधानले परिकल्पना गरेका कतिपय आयोगहरू अझै पदाधिकारीविहीन छन् ।

नागरिकले आधारभूत रूपमा राज्यबाट पाउने सकारात्मक विभेदका नीति कतिपय संरचना नबन्दा पाउन सकेका छैनन् । संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा विभाजित छ ।

मधेसकेन्द्रित राजनीतिक दलले बेलाबेलामा संविधान संशोधनको विषय उठाइरहे पनि स्पष्ट विषय किटान गर्न नसक्दा सरकार र राजनीतिक दलबीच गहन परामर्श हुन सकेको छैन ।

संविधान कागजी रूपमा मात्रै बनाइएको नभई मुलुकमा राजनीतिक स्थिरता, शान्ति, प्रगति, सुशासन र तथा परिवर्तनको आभास दिन बनाइएकाले सरकार र राजनीतिक दलले सोहीअनुसार आफूलाई केन्द्रित गर्नुपर्ने माग नागरिक स्तरबाट उठिरहेको छ ।

पाँचौं संविधान दिवस मनाइरहँदा नागरिकको अपेक्षा अनुसारका काम हुन सकेमा मात्रै संविधान दिवस मनाएको औचित्य साबित हुनेछ ।

यसैबीच संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले देश विदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *