Main News

बाढीपहिरो र चट्याङबाट जेठ महिनायता ४९ जिल्लामा ३३९ जनाको मृत्यु : गृहमन्त्री थापा

हिमालय टिभी
२०७७ असोज २ गते १८:५३
बाढीपहिरो र चट्याङबाट जेठ महिनायता ४९ जिल्लामा ३३९ जनाको मृत्यु : गृहमन्त्री थापा

२ असोज, २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले देशभर गत वर्षभन्दा कम क्षति भए पनि यसवर्ष जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभयो ।

गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ ।

प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताउनुभयो ।

प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूननिर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि गृह मन्त्री थापाले बताउनुभयो ।

उहाँले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडितहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पार्नुभयो । जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइएपनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताउनुभयो ।

बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरित सडक बाटो खोल्ने क्रियाकलापले पनि मुख्य रहेको बताउनुभयो । त्यसको नियन्त्रणका लागि मापदण्ड अझबढी कडा बनाउने विषयमा मन्त्रालला छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *