Main News

जनकपुरधाम आइपुग्यो नेपाली रेल, रेलका कागजपत्र नेपाललाई हस्तान्तरण

हिमालय टिभी
२०७७ असोज २ गते १५:०४
जनकपुरधाम आइपुग्यो नेपाली रेल, रेलका कागजपत्र नेपाललाई हस्तान्तरण

२ असोज, २०७७, जनकपुरधाम । सात महिनादेखि भारतमा अड्किएको नेपाली रेल आज जनकपुर ल्याइएको छ ।

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुरधाममा भारतीय कम्पनीले रेल विभागलाई हस्तान्तरण गरेको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको हो ।

जनकपुरधामको रेल्वे स्टेसनमा भारतीय कम्पनीका अधिकारीले विभागलाई रेलका कागजपत्र हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा अडकिएका थिए ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर दुरीमा रेल सञ्चालन हुनेछ । दोश्रो चरणमा कुर्थादेखि भंगहासम्म १७ किलोमिटर र त्यसपछि जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर क्षेत्रमा रेल सेवा सञ्चालनको तयारी भइरहेको छ ।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । रेल सेवाका लागि कर्मचारी भर्ना गर्न विभागले आवेदन समेत आह्वान गरिसकेको छ ।

विक्रम संवत १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो । अंग्रेजले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए। शुरुमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो ।

विसं २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इञ्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो ।

पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गका रूपमा रहेको जनकपुर–जयनगर रेल सेवा सात वर्षदेखि बन्द थियो । न्यारो गेजमा चल्ने गरेको रेल अहिले ब्रोडगेजमा स्तरोन्नती गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *