बंगलादेश नेपाललाई युरिया मल दिन तयार

२ असोज, २०७७ काठमाडौं । बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले ल्याउन प्रक्रिया शुरु गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।
नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचो माग गरेको थियो । सरकारले माग गरे अनुसार बंगलादेशले मल दिन तयार भएको हो ।
सरकारले निर्णय गरेसँगै आजदेखि टेण्डर आह्वान गरेर मल ल्याउने प्रकृयामा जाने मन्त्रालयले जनाएको छ । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सात दिनको म्याद दिइ बोलपत्र आह्वान गरिनेछ ।
सरकारबाट ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रालि ललितपुर र होनिको मल्टिपल प्रालिले तोकिएको समयमा २५–२५ हजार टन युरिया मल आपूर्ति नगरेका कारण मलको हाहाकार भएको थियो । मलको हाहाकार भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउने पहल गरेको थियो ।
प्रतिक्रिया