राजनीति

सांसद भएपछि बामदेव गौतमले भन्नुभयो: अब समाजवाद ल्याउन भूमिका खेल्छु (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १ गते २०:४४
सांसद भएपछि बामदेव गौतमले भन्नुभयो: अब समाजवाद ल्याउन भूमिका खेल्छु (भिडियोसहित)

१ असोज, २०७७, काठमाडौं । लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको संघीय संसदको सदस्य बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई सरकारको सिफारिस अनुसार राष्ट्रिय सभा सदस्य नियुक्त गर्नुभएको हो ।

आजै गौतमले पद तथा गोपनीयताको शपथ लिनुभयो । सिफारिस भएको ४ दिनमा मनोनित भए पनि गौतमको शपथ भने तत्काल भयो । संसद सचिवालयमा आज आयोजित शपथ समारोहमा लामो प्रयासपछि सांसद बन्न पाएकोमा गौतम निकै दंग देखिनुभयो । गौतमसँगै नेकपाको सचिवालयमा रहेका सबै नौ जना संघीय संसदका सदस्य बनेका छन ।

४ बजे शपथ ग्रहणको कार्यक्रम थियो । तर गौतम त्यसअघि नै संसद सचिवालय पुगिसक्नुभएको थियो । पछिल्लो समय राष्ट्रिय राजनीतिको चर्चाको केन्द्रमा पुगेका गौतम शपथ कार्यक्रममा निकै उत्साही देखिनुभयो । जुन उहाँको हाउभाउले बताईरहेको थियो ।

सामान्य अवस्थामा शपथ कार्यक्रममा दलका सांसद र केही नेता उपस्थित हुन्थे । तर गौतमको शपथमा नेकपाका सबैजसो शीर्षनेता उपस्थित भए । जसले पनि गौतमलाई फुरुङ् बनाएको थियो ।

शीर्ष नेताको उपस्थितमा गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिनुभयो । शपथपछि लोगो लगाएर गौतमले उपस्थित शीर्ष नेताबाट बधाइ थाप्नुभयो ।

शपथ लिएपछि गौतमले आफूलाई सांसद बनाएकोमा पार्टी, सरकार र राष्ट्रपतिलाई धन्यवाद दिन भ्याउनुभयो । तथापि उहाँले राष्ट्र र जनताप्रति बफादार रहेर काम गर्ने बताउनुभयो ।

यतिमात्र होइन, मन्त्री बन्नकै लागि गौतम सांसद बनेका हुन् भन्ने चर्चा चलिरहँदा उहाँले भने आफू राष्ट्रियसभाको गरिमा बढाउनकै लागि सांसद बनेको र कुनै स्वार्थ नरहेको दाबी गर्नुभयो ।

र राष्ट्रियसभामा रहँदा पार्टीले लिएको समाजवाद स्थापना गर्ने संकल्प पूरा गर्न लाग्ने गौतमको प्रतिबद्धता छ । अझ रोचक त उहाँ आफैंले सदस्यता दिएर पार्टीमा भित्राएका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबाट शपथ लिन पाएकोमा निकै खुशी व्यक्त गर्नभयो ।

गौतम अब ६ वर्षसम्म राष्ट्रियसभा सदस्य रहनुहुनेछ । र कुनै स्वार्थ नभएको अनि सभाको गरिमा बढाउन आएको भन्ने गौतमका स्वार्थ पनि यो बीचमा खुल्दै जानेछन । किनकी कुरा उहाँले भनेको जस्तो सिधा छ भनेर अहिले कसैले पत्याईहालेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्