Main News

६ महिनादेखि थन्किएका मध्यम र लामो दूरीको बस आजदेखि खुल्दै

हिमालय टिभी
२०७७ असोज १ गते ७:२८
६ महिनादेखि थन्किएका मध्यम र लामो दूरीको बस आजदेखि खुल्दै

१ असोज, २०७७ काठमाडौं । गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि खुल्दैछन् ।

कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको हो । हिजो यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर भौतिक पूर्वाधार तथा यायायातमन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

त्यसको अनुगमन ट्राफिक प्रहरी, विभाग, स्थानीय तहले गर्ने सहमति भएको छ । कुनै पनि सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले ठाउँठाउँमा चेक गर्नेछ । साविक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने मन्त्रिपरिषद्को निर्णय भएको र त्यो निणर्य पूर्ण कार्यान्वयन हुनेगरी तयारी भएको महानिर्देशक हमालले बताउनुभयो ।

साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ । यी नियम ट्राफिक प्रहरीले कडाइका साथ लागू गराउने भएको छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी सङ्घले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक काममा रोकिन पाउने छैनन् । व्यवसायीले पनि स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *