राजनीति

बामदेव गौतमलाई रोक्ने बालुवाटारको भित्रभित्रै यस्तो प्रयास (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३१ गते २०:२८
बामदेव गौतमलाई रोक्ने बालुवाटारको भित्रभित्रै यस्तो प्रयास (भिडियोसहित)

३१ भदौं, २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सरकारले राष्ट्रियसभाको सांसदका लागि मनोनित गर्ने निर्णय गरेको तीन दिन भएको छ । तर निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन ।

राष्ट्रपति कार्यालयले अहिलेसम्म सिफारिस नआएको बताएको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि पनि गौतम अहिलेसम्म सांसद बन्न किन सक्नुभएको छैन त ? यसमा केही भित्री कारण देखिएको छ ।

नेकपा सचिवालयको निर्णय अनुसार सोमबारको मन्त्रिपरिषदको बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको खबर बाहिरियो ।

सामान्य अवस्थामा मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर मात्र सार्वजनिक गर्ने गरिएको भएपनि कुनै विशेष निर्णय भने पहिले नै सञ्चारमाध्यममा आउने गरेका छन् ।

सोमबार साँझ पनि सरकारका केही मन्त्रीलाइ कोट गरेर गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरेको समाचार आयो । अहिले पनि मन्त्रीहरु उक्त निर्णय भएको बताइरहेका छन् । तर तीन दिनसम्म पनि गौतम राष्ट्रियसभामा मनोनित हुनुभएको छैन ।

अर्थात निर्णय कार्यान्वयनको प्रक्रियामा नलगी अडकाएर राखिएको छ । अर्कोतिर पूर्व मन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय मन्त्रिपरिषदबाट भएको थिएन । तर मंगलबार प्रवक्ता प्रदीप ज्ञवालीले खतिवडालाई विशेष सल्लाहकार बनाइएको जानकारी गराउनुभयो ।

बामदेवलाई सांसद सिफारिस गर्ने निर्णय भने उहाँले सुनाउनु भएन । यसले बैठकमा सहभागी मन्त्री नै अन्योलमा परेका छन् । बामदेव गौतमलाई मन्त्री बन्न नदिन बालुवाटारले निर्णय रोकेर राखेको उहाँका निकटवर्तीको आशंका छ ।

गौतमले अर्थमन्त्री बन्ने चाहना राख्नुभएको थियो । तर प्रधानमन्त्री केपी ओली गौतमलाई अर्थ मात्रै होइन कुनै पनि मन्त्री बनाउन इच्छुक हुनुहुन्न । केही दिन निर्णय अडकाएर आफुलाई गलाउने प्रयास भएको गौतमको पनि आंकलन छ । मन्त्री नबन्ने शर्तमा मात्रै बालुवाटार गौतमको नाम सिफारिस गर्ने तयारीमा छ ।

गौतमलाई रोक्नकै लागी खतिवडालाई हतार हतारमा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाकार नियुक्त गरिएको अनुमान छ । प्रधानमन्त्री अर्थमन्त्रालय आफैले राखेर खतिवडामार्फत चलाउने तयारीमा हुनुहुन्छ । यस्तो अवस्थामा खतिवडाको छाँया जस्तो बनेर अर्थ मन्त्रालयमा गौतमले चाहना नराख्ने बालुवाटारको बुझाइ छ ।

बुधबार यो सामग्री तयार पार्दासम्म गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति कार्यालयमा पुगेको छैन ।

नेकपाभित्रको विवाद समाधानमा महत्वपूर्ण भूमिका खेलेर सांसद बन्न लागेका भनिएका गौतम तीन दिन सम्म पनि मन्त्रीपरिषदको निर्णय कार्यान्वयन नहुँदा अहिले असमञ्जसमा पर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक आफुलाई छक्याउन खोजेको गौतमको आंकलन छ ।

उहाँले आफु मन्त्री बन्नकै लागि राष्ट्रियसभामा जान लागेको बताइसक्नुभएको छ । यस्तो अवस्थामा बालुवाटार गौतमलाई रोक्न सफल हुन्छ कि हुँदैन हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्