Main News

सीमा नाकामा दलाली: रकम लिँदै श्रमिक भारत पठाउँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३० गते २०:२६
सीमा नाकामा दलाली: रकम लिँदै श्रमिक भारत पठाउँदै (भिडियोसहित)

३० भदौ, २०७७ नेपालगन्ज । कोरोनाका कारण कामविहीन भएकालाई दलालले भारतमा काम लगाइदिने भन्दै ठग्न थालेका छन । उनीहरुले अवैध ढंगले नेपाली मजदुरलाई भारत पुर्‍याउन खोजेको समेत पाइएको छ ।

रुकुम, जाजरकोट, बर्दिया, बाँके र दैलेखका मजदुर जम्मा भई मध्यरातमा नेपालगन्जबाट पूर्वी क्षेत्रमा पर्ने खडैचा नाकाबाट ५४ जना भारत जान लाग्दा प्रहरीले रोकेपछि यो रहस्य खुलेको हो ।

नेपाली मजदुरसँग जनही ६ हजारदेखि १० हजारसम्म रकम लिएर भारतको सिमलासम्म पुर्‍याउने गिरोहका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिक कामको खोजीमा भारत जाँदै थिए । तर बाटो भने अवैध थियो । कोरोना संक्रमण शुरु भएदेखि नेपालबाट भारत जान र भारतबाट नेपाल आउन सरकारले पश्चिम नेपालमा नेपालगन्ज रुपैडिया नाकालाई तोकेको छ । तर उनीहरु खडैचा नाकाबाट भारत जाँदै थिए ।

त्यो पनि अरुको प्रलोभनमा परेर ६ देखि १० हजार रुपैयाँ दिने शर्तमा । यस्तो सूचना पाएपछि प्रहरीको टोलीले गएर उनीहरुलाई रोक्यो । भारत जान त्यहाँको आधार कार्ड र भारतको रोजगारदाताले काममा आउनु भनेर पठाएको सुचीमा नाम भएको ब्यक्ति हुनुपर्छ । उनीहरुसँग त्यो थिएन ।

नागरिकता भए हुन्छ भनेर अवैध बाटोबाट भारत लैजान खोजिएको थियो । र त्यसो गर्ने दुईजनालाई प्रहरीले पक्रेको छ ।

कागजात नभएपनि भारत छिराउँछु भनेकोले पैसा दिने शर्तमा जान लागेको नेपाली मजदुरले पनि स्वीकार गरेका छन ।

र, यो आफ्नो बाध्यता भएको उनीहरु बताउँछन । कोरोना संक्रमणका हिसाबले भारत बिश्व मै सबैभन्दा जोखिमयुक्त मुलुक भए पनि रोगभन्दा भोकको डर बढ्दै गएपछि उनीहरु जानी जानी अवैध बाटो जान तयार भए । भारतको सिमला पुगेर दैनिक ४ सय भारु, ६ सय ४० रुपैँया नेपाली ज्याला पाउने गरेर स्याउ बोक्न जाने तयारी थिए ।

लामो लकडाउका कारण रोजगारीका अबसर गुम्दै गएपछि बैधबाटो भएर नेपालगन्ज रुपैडिया नाका हुँदै पनि दैनिक सयौंको संख्यामा नेपाली रोजगारीको खोजीमा भारत गैरहेका छन ।

पछिल्ला दिनमा भारत पलायन हुने नेपालीको लस्कर सीमा नाकामा बढ्दै गएको छ । पश्चिम नेपालको नेपालगन्ज नाका हुँदै दैनिक करिब २ सयको हाराहारीमा नेपाली भारत गईरहेका छन ।

भारत जानेको संख्या दिनहुँ बढ्दैछ । यो रोगले भन्दा भोकको डरले ल्याएको स्थिति हो । तर त्यो भन्दा पनि डरलाग्दो पीडामा परेकालाई दलालहरुले चंगुलमा फसाउन थालेका छन । त्यसैले सरोकारवालाको यसमा छिटो ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *