Main News

असोज ५ गतेदेखि सार्वजनिक यातायात र आन्तरिक हवाई सेवा खुल्ला गर्ने निर्णय

हिमालय टिभी
२०७७ भदौ ३० गते ७:२९
असोज ५ गतेदेखि सार्वजनिक यातायात र आन्तरिक हवाई सेवा खुल्ला गर्ने निर्णय

३० भदौ, २०७७ काठमाडौं । सरकारले असोज ५ गतेदेखि सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेदेखि खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीमा पठाएको थियो ।

सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो । सरकारको यसअघिको निर्णयबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

असोज १ गतेदेखि नै सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेदेखि यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले पनि सुरक्षाका उपाय अपनाएर लामो दूरीका यातायात सञ्चालन गर्न यातायात मन्त्रालयलाई सुझाव दिएको थियो ।

सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

यातायात व्यवसायीले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्न माग गर्दै आएका थिए । गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *