Main News

किन बारम्बार जान्छ सिन्धुपाल्चोकमा पहिरो ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २८ गते २०:२३
किन बारम्बार जान्छ सिन्धुपाल्चोकमा पहिरो ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

२८ भदौ, २०७७, काठमाडौं । सिन्धुपाल्चोकमा पटकपटक पहिरो जाँदा ठूलो जनधनको क्षति भैरहेको छ । भूगर्भ विद्हरुले पनि सिन्धुपाल्चोकका २ सय ४२ वटा बस्ती बस्न योग्य नभएको भन्दै ती स्थानान्तरण गर्न सुझाव दिएका थिए । तर त्यो सुझाव कार्यान्वयन भएको छैन । जसले गर्दा सिन्धुपाल्चोकमा बारम्बार बाढी पहिरोले क्षति गर्ने गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको घुम्थाङ्गमा गएको पहिरोले सिन्धुपाल्चोकमा अर्को पीडा थपेको छ । नागफुजे, भिरखर्क र नेवार टोलका तीन गाउँमा पहिरो गएको छ । बाह्रबीसे पछिल्लो पटक पहिरो गएको त्यै नगरपालिका हो । जहाँ असारमा पनि ठूलो पहिरो गएको थियो ।

यसअघि लिदीमा पनि पहिरोले जनधनको क्षति भएको थियो । २०७२ सालको भूकम्पले जर्जर सिन्धुपाल्चोकका २ सय ४२ वटाबस्ती बस्न योग्य छैनन भनेर भूगर्भविद्हरुले नै भनेका थिए । तर पनि ती बस्ती स्थानान्तरण नहुँदा सिन्धुपाल्चोकका बासिन्दा पहिरोमा पुरिने गरेका छन् ।

राष्ट्रिय पुन निर्माण प्राधिकरणको टोलीले अध्ययन गरेर जोखिम रहेको भनेका ठाउँमा मात्र हैन । नयाँ नयाँ ठाउँमा पनि पहिरो जान थालेको छ ।

भूगर्भविद्का अनुसार पहिरो जानुको मूख्य कारण जथाभावी सडक र घर बन्नु, जंगल फँडानी हुनु र पानीको मुहान चलाउनु हो ।

राष्ट्रिय पुन निर्माणले गरेको बाहेक सिन्धुपाल्चोकमा अन्य हिसावले पहिरोको जोखिमको अध्ययन हुन सकेको छैन । त्यसैले अब जोखिमपूर्ण ठाउँको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुको बिकल्प छैन ।

घुम्थाङ्ग कसैले पनि पहिरो जान्छ भनेर पहिचान गरेको ठाउँ होईन । तर पनि निरन्तर वर्षासँगै पहिरो गयो र जनधनको क्षति भयो । नेपालमा पहिरो जाने जोखिमपूर्ण ठाउँको अध्ययन गर्न आवश्यक प्रविधि र स्पष्ट नक्सा नहुँदा यो समस्या देखिएको छ ।

त्यसैले भौगोलिक अवस्था स्पष्ट भएका नक्सा र अध्ययनका लागि आवश्यक पर्ने मोडल प्रयोगमा ल्याउन सके, पहिरोकै कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *