Main News

सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, २० जना बेपत्ता

हिमालय टिभी
२०७७ भदौ २८ गते १६:५५
सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, २० जना बेपत्ता

२८ भदौ, २०७७ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गएको पहिरोमा ११ जनाको मृत्यु भएको छ । अरु २० जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोमा पुरिएका सात महिला र चार पुरुषको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रकाश सापाकोटाले जानकारी दिनुभयो ।

पहिरोमा परेर हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य २० जना अझै बेपत्ता नै छन् । उनीहरुको खोजी भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् ।

बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, काठमाडौं मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकसहित बीस जना हराईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको बाह्रबिसे नगरपालिकाको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिनुभयो ।

अहिले पहिरो गएको ठाउँ बाह्रबिसेको जङ्गु नजिकै पर्छ । ज‌ङ्गुमा गत असारमा आएको बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *