भोकालाई निःशुल्क भोजन खुवाउने मनकारी इन्दिरा (भिडियोसहित)

२८ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका, रोजगारी गुमाएर खाना खान नपाएकालाई विभिन्न व्यक्ति र संघ संस्थाले निः शुल्क खाना खुवाइरहेका छन् । आज हामी तपाईँलाई यसरी खाना खुवाउने एउटी मनकारी महिलासँग भेट्टाउँदैछौँ ।
उहाँ हुनुहुन्छ इन्दिरा रानामगर । जेलमा रहेका बाउ आमाका सन्तानलाई सहयोग गर्ने बन्दी सहायता नेपाल संस्थाकी संस्थापक रानामगरको कामको क्षेत्र कोरोना कहरले बढेको छ । हिजोआज कोरोना कहरका कारण खान नपाएर सडकमा भोकले छटपटाउनेलाई उहाँले खाना खुवाउँदै आउनु भएको छ ।
ठमेल, गल्कोपाखा चोक, जमल, खुलामञ्च लगायतका ठाउँमा पुगेर उहाँले दैनिक सयौलाई खाना खुवाउनुहुन्छ । १० दिनसम्म खान नपाएकाहरुले उहाँको हातको खाना पाएका छन् ।
शुरुको दिन सडकमा गएर ३० जनालाई खाना बाँडेकी इन्दिरा अहिले दिनमा सयौलाई खुवाउनुहुन्छ । सुरुमा ठमेलको संचयकोष क्षेत्रमा खाना खुवाउँदा स्थानीय बासिन्दाले असहयोग गरे ।
तर दिन बित्दै जाँदा असहयोग गर्ने भन्दा सहयोग गर्ने बढे । शुरुमा आफ्नै खर्चबाट खाना खुवाउन थालेकी इन्दिरालाई अहिले धेरैले सहयोग गर्दै आएका छन् । मनकारीले नगद मात्र हैन, दाल चामल तरकारीसमेत सहयोग गर्छन ।
धेरैले खाने भएकाले ३ जनालाई खुवाउन सय रुपैयाँले पुग्छ ।इन्दिरालाइ खाना बनाउन पनि सहयोग गर्ने स्वयम् सेवक छन् । र उहाँ आफैं पनि खटिनु हुन्छ ।
खाना बाँड्ने ठाउँमा पनि खानेहरुले नै सहयोग गर्छन । तातो खाना खुवाउने इन्दिरालाइ खाना खानेहरु आमा भन्छन् ।
संकटका बेला अरुलाई काम लाग्ने मान्छे नै महान हो, त्यसैले यो संकटका बेला सबैले ईन्दिरा रानामगरले जस्तै सहयोगी हात अघि बढाउनु जरुरी छ ।
प्रतिक्रिया