राजनीति

नेकपाका तीन खेलाडी : कसले हार्‍यो–कसले जित्यो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २७ गते १९:३८
नेकपाका तीन खेलाडी : कसले हार्‍यो–कसले जित्यो ? (भिडियोसहित)

२७ भदौ, २०७७, काठमाडौं । स्थायी कमिटी बैठक सकिएसँगै सत्तारुढ नेकपामा सबै विवाद अन्त्य भएको घोषणा गरिएको छ । यो विवादमा कस्ले जित्यो र कसले हार्‍यो भन्ने अडकलबाजी भइरहेको छ । यो विवादमा कुन नेताले बाजी मारे र कसका लागि घाटा भयो ?

सत्तारुढ नेकपाको विवादमा मुख्य तीन समूह थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले यी तीन समूहको नेतृत्व गर्नु भएको थियो । तीनमध्ये कसको जीत र कसको हार भयो भन्ने लेखाजोखा गरौं–

१ केपी शर्मा ओली
नेकपा विवादको विजारोपण नै प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर भएको थियो । सरकारका कामकारवाही एवं ओलीको दम्भका कारण पार्टीलाई क्षति पुगेको ठहरसहित प्रचण्ड र नेपाल पक्ष एक भएर उत्रियो ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई दुबै पदबाट हटाउने रणनीतिसहित आफ्ना कदम अघि पनि बढायो । सचिवालय र स्थायी कमिटी बैठकमा बहुमत सदस्यले ओलीलाई दुबै पदबाट हट्न भने । सरकार र पार्टी दुबै ठिक ढंगले संचालन गर्न नसकेकाले ओलीले ठाउँ खाली गरिदिनुपर्ने ओली इतर पक्षको तर्क थियो ।

तर, ओलीले दुबै पद नछाड्ने अडान राखिरहनुभयो । अडान मात्रै होइन पद बचाउन उहाँले अनेक हथकण्डा पनि अपनाइरहनुभयो । पार्टी फुटाउने धम्कीदेखि संसद अधिवेशनको हठात अन्त्य गर्ने कदमले विरोधी पक्षलाई झस्काइरहन उहाँ सफल हुनुभयो । त्यसका बावजुद धेरै नै दबाब परे एक पद छाड्नुपर्नै निष्कर्षमा ओली पक्ष पुगिसकेको पनि थियो ।

तर यहाँनिर बामदेव गौतम ओलीका लागि बरदान नै सावित हुनु भयो । ओलीलाई दुबै पदबाट हटाउनु पर्ने भन्दै चर्को बोलि बोलिरहेका गौतमले एकाएक यू टर्न गरेपछि नेकपाको विवाद पनि मोडियो । यही सिंढीमा टेकेर ओलीले थप कदम चाल्नुभयो । त्यसैको प्रतिफल उहाँका दुबै पद सुरक्षित भए । ओलीले अल्पमतमा परेर पनि रणनीतिक चातुर्यका आधारमा सबैलाई सुताइदिनु भएको छ । यसअर्थमा नेकपा विवादबाट सबैभन्दा बढी फाइदा तत्कालका लागि ओलीलाई नै भएको छ ।

२. पुष्पकमल दाहाल प्रचण्ड
प्रचण्डका लागि अहिलेको विवाद सजिलो थिएन । उहाँले ओलीलाई दुबै पदबाट हटाएर पार्टी र सरकार आफैँ चलाउन चाहनुहुन्थ्यो । यसमा नेपाल पक्षले पनि साथ दिएपछि प्रचण्ड हौसिनु स्वभाविक थियो । तर यो काम त्यति सजिलो छैन भन्ने उहाँलाई पनि पक्कै लागेको थियो ।

पार्टी र सरकारको नेतृत्व आफ्नो हातमा आउँदा कतै पार्टी नै फुट्ने हो की भन्ने चिन्ता भने उहाँलाई थियो । किनकी एकीकृत पार्टीको अध्यक्ष र पछि प्रधानमन्त्रीको स्वभाविक दावेदार रहेकाले पार्टी फुट्दा सबैभन्दा बढी घाटा प्रचण्डलाई नै हुनेवाला थियो । ओलीले बारम्वार पार्टी फुटाउने धम्की दिएपछि प्रचण्ड भविष्य हेरेर पछि हट्न बाध्य हुनुभयो । र सम्झौतको बाटो रोज्नुभयो ।

नयाँ सम्झौताले उहाँलाई कार्यकारी अध्यक्षका रुपमा अभ्यास गर्ने बाटो भने तयार भएको छ । उहाँले शुक्रबारको स्थायी कमिटी बैठकबाटै त्यसको सुरुवात पनि गर्नुभएको छ । यसअर्थमा प्रचण्डका लागि पछिल्लो विवाद धेरै फलिफाप नभए पनि ठुलो घाटाको व्यापार पनि भएन ।

३. माधवकुमार नेपाल
नेकपा विवादको सबैभन्दा महत्वपूर्ण स्थानमा माधव नेपाल हुनुहुन्थ्यो । किनकी दुई अध्यक्ष रहेको नेकपामा नेपाल जता मिल्यो त्यही पक्षकै पल्ला भारी हुनेवाला थियो । त्यसैले नेपाल पक्षलाई आफूतिर तान्न ओली पक्षले सबै उपाय लगायो ।

बहुदलीय जनवाददेखि पूर्व एमालेबीचको एकताका कुरा पनि उठे । तर नेपाल पक्ष अडानबाट टसमस भएन । यो पक्षको मुख्य रणनीति प्रचण्डसँग मिलेर ओलीलाई ठेगान लगाउने नै थियो । मुख्यमन्त्री र मन्त्री चयनदेखि बारम्बार ओलीबाट पाएको अपमानका कारण नेपाल पक्ष रुष्ठ थियो । त्यही अपमानको बदला लिन यो गतिलो अवसर हुन सक्ने नेपाल पक्षको बुझाइ थियो ।

प्रचण्डसहित झलनाथ खनाल, बामदेव गौतम, माधवकुमार नेपाल एक ठाउँमा आउँदा अत्यधिक बहुमत पुग्ने र ओलीले सहजै सत्ता र पार्टीको नेतृत्व छाड्ने धेरैको आँकलन पनि थियो । तर नेकपाको आन्तरिक राजनीति सोझो रुपमा अघि बढेन ।

गौतम बीचमै चिप्लनुभयो । तर त्यसपछि पनि प्रचण्ड नेपाल पक्ष मिल्दा मात्रै पार्टीका सबै निकायमा स्पष्ट बहुमत थियो । यहाँनिर भने प्रचण्डबाट नेपाल पक्षलाई धोका भयो । दुई अध्यक्ष मिलेपछि नेपाल पक्ष कर्नरमा पर्‍यो । राजनीतिका ठुला खेलाडी मानिने प्रचण्डले संभवत आगामी महाधिवेशनमा नेपाल पक्षसँग नै प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्षसहित ओलीसँगै हात मिलाउनुमा फाइदा देख्नुभयो ।

यही जोडघटाउको परिणाम पछिल्लो विवादबाट संभवत सबैभन्दा बढी चोट नेपाल पक्षलाई नै परेको छ । तर नेकपाको पछिल्लो विवादमा शुरुदेखि अन्त्यसम्म एउटै अडानमा रहेर नेपालले आफ्नो समूहको रक्षा गर्न भने सफल हुनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्