राजनीति

नेकपाले नदिएको जवाफ : भारतको इशारामा को चलेको थियो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते २०:४५
नेकपाले नदिएको जवाफ : भारतको इशारामा को चलेको थियो ? (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । विवाद मिलेको घोषणा गर्दै सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । तर पार्टीभित्र जसरी विवाद भयो र त्यसले जे जस्ता तरंग ल्यायो ? तीमध्ये धेरै विषयको जवाफ नेकपाले दिएको छैन । त्यसमध्ये एक हो –भारतीय एजेण्टको आरोप प्रत्यारोप । आफ्नो राजनीतिक रोटी सेक्न नेकपाका नेताहरुले भारतको इशारामा चलेको भनेर आरोप लगाए तर बैठक सकिँदै जनतलाई जवाफ दिएनन् ।

यो प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा पछिल्लो स्टेटमेन्ट हो, जुन उहाँले शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा राख्नुभयो । तर पछिल्लो तीन महिना नेकपा भित्र जे भाँडभैलो भयो, त्यसको कारण पनि ओलीकै स्टेटमेन्ट थियो ।

त्यसैले नेकपाले विवाद समाधान भयो भन्दै स्थायी कमिटी बैठक सकिएको घोषणा गरेपनि नेपाली जनताले केही विषयको जवाफ पाएका छैनन, त्यो मध्ये एक हो भारतको ईशारामा पार्टीकै नेताहरु मलाई हटाउन लागे भन्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आरोप ।

अर्थात पार्टी भित्र भारतीय एजेण्ट को हो ? भन्ने जवाफ आएन । पार्टीकै नेताहरु भारतको ईशारामा चलेको भन्ने प्रधानमन्त्री ओलीको आरोपबाट नेकपा भित्र भाँडभैलो शुरु भएको थियो । र, यो विवाद सिर्जना गर्ने ओलीको स्टेटमेन्ट थियो, जहाँ ओलीले प्रचण्ड–र माधवकुमार नेपाल लगायतका नेताहरुमाथि फायर खोल्नुभएको थियो ।

ओलीले यसरी आक्रमण गरेपछि असार १६ गते स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले त्यसको प्रतिवाद गर्नुभयो । तर ओलीले फेरिपनि दिल्लीले चाहे जस्तै तपाइँहरुका गतिविधि मिले भनेर जवाफ फर्काउँदै आफ्नो मतमा अडिग रहनुभयो । त्यतिमात्रै होईन, प्रचण्ड र नेपाल लगायतका नेताविरुद्ध ओलीले आफू निकट कार्यकर्तालाई नाराबाजीमै उतार्नुभयो । जहाँ प्रचण्ड र नेपाल लगायतका नेतालाई ओलीका कार्यकर्ताले भारतीय दलाल भन्नसम्म भ्याए, विवाद बढ्दै जाँदा यस्ता प्रदर्शन भैरहे ।

ओलीले अरु नेतामाथि भारतको इशारामा चलेको आशंका गरे र आरोप लगाए जस्तै प्रचण्ड–नेपाल लगायतका नेताहरुको पनि आशंका ओलीमाथि त्यस्तै थियो । प्रचण्डले सार्वजनिक रुपमै ओलीमाथि नक्साको विषयलाई लिएर प्रश्न उठाउँदै आफू माथिको आरोपको प्रतिवाद गर्नुभयो ।

अर्थात यसमा ओलीननै भारतको इशारामा चलिरहेको प्रचण्ड नेपाल समूहको आशंका थियो । भारतमा जसरी ओलीको विरोध भैरहेको थियो, त्यो डिजाईन हो । र, उद्देश्य ओलीलाई राष्टवादी देखाएर सत्तामा टिकाईराख्ने भारतको योजना छ भन्ने प्रचण्ड नेपाल समूहको बुझाई थियो ।

साढे दुई महिना लामो रस्सा र आरोपप्रत्यारोपपछि नेकपाको विवाद मिलेको देखिएको छ । स्थायी कमिटी बैठक सकिएको छ । तर यसरी मिल्नुभन्दा अगाडि एकअर्कामाथि लगाइएका लाञ्छना र आरोपको कुनै जवाफ दिइएको छैन ।

यदि तपाइँहरुले बिर्सनुभएको छैन भने त्यसको लामै सूचि छ । तर भारतीय एजेण्टको आरोप त्यसमध्येको सबैभन्दा गम्भीर विषय हो । तर यसको उनीहरुले जवाफ दिएका छैनन । उनीहरुले जवाफ नदिएपनि यो विषय ईतिहासमा दर्ज भैसकेको छ । र, आफ्नो राजनीतिक रोटी सेक्न राष्टवादका जनतालाई लडाएका पुष्टि हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्