Main News

नेपालमा थप १४५४ कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १६:३७
नेपालमा थप १४५४ कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन थपिएको अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । यसअघि एकैदिन १३ सय ५९ संक्रमित थपिएका थिए ।

पछिल्लो पटक थपिएकामध्ये झण्डै आधा संक्रमित काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा मात्रै ६ सय २० जना संक्रमित थपिएका छन् ।

यो संख्या पनि संक्रमण शुरु भएयता कुनै पनि जिल्लामा एकैदिन भेटिएको अहिलेसम्मकै धेरै हो । ललितपुर र भक्तपुरमा ३८र३८ संक्रमित थपिएका छन् ।

निषेधाज्ञाका बीचमा संकलन गरिएका स्वाबको परीक्षणमा पनि उपत्यकाका तीन जिल्लामा एकैदिन झण्डै ७ सय संक्रमित भेटिएका छन् ।

काठमाडौंपछि सबैभन्दा बढी रुपन्देहीमा थप १ सय २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा ७४, कैलालीमा ६७, मकवानपुरमा ५४, मोरङमा ४७ तथा सुनसरीमा ४४ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासी पश्चिमका ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

यस्तै पछिल्लो पटक थप ९ सय ७२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । गत २४ घण्टामा १० हजार ७ सय १ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयको डाटा अनुसार १ सय ७० जना संक्रमितको आइसीयुमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *