विदेशबाट आउनेले काठमाडौंबाट घर पुग्न तेब्बर बढी भाडा तिर्नु पर्दा…(भिडियोसहित)
२५ भदौ, २०७७ काठमाडौं । विदेशबाट फर्किएका यात्रु विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै सम्बन्धित जिल्लामा गइरहेका छन् । र उनीहरुलाई जिल्ला जिल्ला पुर्याउन सार्वजनिक यातायातको प्रयोग भइरहेको छ । सिमित व्यक्तिले मात्र ती यात्रु ओसार्ने हुँदा ठगी भइरहेकोछ ।
विभिन्न देशमा अलपत्र परेका नेपाली स्वदेश फर्किने क्रम जारी छ । रोजगारी गुमाएर गोजी रित्तिएका उनीहरु स्वदेश फर्किने बेलादेखि घर पुग्ने समयसम्म ठगिने गरेका छन् । उनीहरुले स्वदेश फर्कन महँगो हवाई भाडा त तिर्नु पर्छ । नेपाल आएर पनि होल्डिङ्ग सेन्टरमा बस्नु पर्छ र त्यहीँ आउने गाडी चढेर घर जानु पर्छ । तर त्यो गाडीले लिने भाडा दोब्बर तेब्बर महँगो छ ।
निषेधाज्ञाका कारण गाडी नचलेकोले उनीहरुसँग अरु बिकल्प छैन । त्यसैले तोकिएकै गाडीमा जान बाध्य छन् । अरु बेलामा जनकपुर, बर्दिवास सम्मको भाडा बढिमा ८ सय हो । तर अहिले सिन्धुलीसम्म मात्र पुग्नेले पनि २ हजार रुपैयाँ तिर्नु परिरहेको छ ।
विदेशबाट आएर होल्डिङ् सेन्टर बसेकालाई जिल्लासम्म पुर्याउने गाडीका लागि यातायात व्यवस्था विभागले समन्वय गर्ने भनेर मन्त्रीपरिषदले निर्णय गरेको थियो । जसअनुसार विभागले यातायात व्यवसायीसँग छलफल पनि गरेको थियो । छलफलमा व्यावसायीले मिलेर यात्रु लैजाने प्रतिवद्धता जनाएका थिए । तर त्यो प्रतिवद्धता व्यवहारमा लागू भएन । तर विदेशबाट आएकालाई घर पुर्याउने जिम्मा सिमित व्यक्तिले पाए र मन लाग्दि गरे ।
कुनै गाडीले सधैं टिप पाइरहेका छन् । कुनैले महिनामा एक पटक पनि पाएका छैनन् । त्यसैले यो मनलाग्दी हट्नु पर्ने व्यवसायीको माग छ ।
विदेशबाट आउनेलाई प्रदेशगत रुपमा होल्डिङ सेन्टरमा राखिए पनि घरसम्म पुर्याउन सम्बन्धित प्रदेश मै चल्ने गाडी प्रयोग गरिएन । जबकी व्यवसायीले सम्बन्धित प्रदेशकै गाडिबाट यात्रु ओसार पसार गर्न पाउनु पर्ने माग गरेका छन् ।
राजधानी आसपासनै गुड्ने सवारीसाधनको प्रयोग गरियो । र रित्तै फर्किनु पर्ने बहानामा यात्रुसँग दोब्बर तेब्बर भाडा असुलियो । लाखौं मजदुर भोक भोकै बस्नु परेको अवस्थामा केहीले भने महामारीलाई कमाउ धन्दा बनाए ।
यात्रु र यातायात व्यवसायीको यो गुनासो पछि यातायात व्यवस्था विभागले अब ठगी गर्नेलाई कारबाही गर्ने र सबै व्यवसायीले यात्रु ओसार्न पाउने व्यवस्था गर्ने गरिएको छ ।
यसबाट होल्डिङ्ग सेन्टरबाट यात्रुलाई घर लैजाने नाममा हुँदै आएको ठगी घट्ने विश्वास छ ।
प्रतिक्रिया