Main News

जग्गाको कित्ताकाट खोल्ने निर्णयले सरकार किन पर्‍यो विवादमा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते २०:०१
जग्गाको कित्ताकाट खोल्ने निर्णयले सरकार किन पर्‍यो विवादमा ? (भिडियोसहित)

२४ भदौ, २०७७ काठमाडौं । तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय विवादमा परेको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालयको यो निर्णयमा संसदीय समिति, सत्तारुढ दलकै नेता कार्यकर्ता र सर्वसाधारण नागरिकले समेत प्रश्न उठाएका छन् ।

०७४ सालदेखि रोकिएको जग्गाको कित्ताकाट भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले भदौ १८ गतेदेखि खोल्ने निर्णय गर्नुभयो । र, त्यसै अनुसार पुराना निर्णयहरु खारेज गरिएका परिपत्र जारी गरियो । मन्त्री अर्यालको दावी छ सर्वसाधारण समस्यामा परेकाले जग्गाको कित्ताकाट खुला गरिएको हो ।

तर सरोकारवालाहरु यसलाई मान्न तयार छैनन् । उनीहरुले यो निर्णयको औचित्यमाथि प्रश्न उठाएका छन् ।

मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावली बनाई मन्त्रिपरिषदमा पेश गरेको छ जुन पारित हुन भने बाँकी छ। नियमावलीमा जग्गाको बर्गिकरण गरी त्यसै अनुसार प्रयोग गर्ने उल्लेख छ।

तर, नियमावली पारित हुनुअघि नै मन्त्रिस्तरको निर्णयबाट कित्ताकाट खुला भएको छ । शंका गर्नेहरुको प्रश्न यहीँनेर छ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले पनि मन्त्री अर्यालको निर्णय कानून विपरीत रहेको दाबी गर्नुभयो ।

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाकै किसान संगठन मन्त्री अर्यालको यो निर्णयको विरुद्ध उत्रिएको छ ।अखिल नेपाल किसान महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले विज्ञप्ति नै निकालेर जग्गा कित्ताकाट खोल्ने निर्णय भू–माफिया तथा दलाललाई पोस्ने कदम भन्नुभएको छ । यो निर्णय सरकारको आफ्नै घोषणा र नीति विपरीत भएको महासंघको निष्कर्ष छ ।

बेला बेला विवादास्पद र कदम चाल्दै र फिर्ता लिँदै आएको ओली सरकार जग्गा कित्ताकाट फुकुवा गर्ने पछिल्लो निर्णयबाट पनि विवादमा पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *