Main News

नेपालमा थप १०८१ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २४ गते १६:३४
नेपालमा थप १०८१ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

२४ भदौ, २०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुष र ८३ वर्षीय महिलाको ललितपुरको अल्का अस्पतालमा निधन भएको छ । यसैगरी पोखरा महानगरपालिका–१० की ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसीयुमा मृत्यु भएको छ ।

यसैगरी नवलपसारी पूर्वका ६४ वर्षीय पुरुषको भरतपुर अस्पतालमा निधन भएको छ । उनी मृगौलाका बिरामी भएको अस्पतालले जनाएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका एक जना टिपर चालक ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । यस्तै बाँकेको कोहलपुरकी ८० वर्षीया महिलाको पनि संक्रमणबाट ज्यान गएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभर १ हजार ८१ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

पछिल्लो पटक काठमाडौंमा ३ सय ९४ जनामा संक्रमण देखिएको छ । यसैगरी भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना संक्रमित थपिएका छन् ।

सिरहामा ८१ जना थपिँदा मोरङमा ७७ जना सुनसरीमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यसैगरी मकवानपुर र रुपन्देहीमा समान ४२–४२ जना संक्रमित थपएका हुन् । त्यस्तै बाँकेमा २२ जना संक्रमित थपिए ।

पछिल्लो २४ घण्टामा ९ सय १८ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुने ३३ हजार ८ सय २२ जना भएका छन् ।

हाल सक्रिय संक्रमित १५ हजार २५ जना छन् । २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हालसम्म १६२ जना आइसीयूमा र २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *