Main News

सात महिनादेखि अलपत्र नेपालीले साउदीमा थाले आन्दोलन, लाग्यो सरकारविरोधी नारा

हिमालय टिभी
२०७७ भदौ २४ गते १३:४२
सात महिनादेखि अलपत्र नेपालीले साउदीमा थाले आन्दोलन, लाग्यो सरकारविरोधी नारा

२४ भदौ, २०७७ काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् ।

कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको भन्दै विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजी गरेका हुन् । नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखेका थिए ।

कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दिएको उनीहरुले बताएका छन् । महिनौंदेखि विमान कुरिरहेका उनीहरु हिजो नेपाल उड्ने मिति तय भएको थियो । तत्कालै आफूहरु स्वदेश फर्किने अवस्था नदेखेपछि उनीहरु थप आक्रोशित भएका हुन् ।

आक्रोशित श्रमिकले नेपाली दूतावास खारेज गर्न समेत माग गरेका छन् । उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम्पनीमा महिनौंदेखि काम नपाएर अलपत्र परेका उनीहरुलाई नेपाल फर्किन पाउने आश्वासन पाएको करिब ७ महिना भइसकेको छ ।

सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ ।

सीमित चार्टर्ड उडानका कारण अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन । कतिपय कम्पनीले श्रमिकलाई नेपालबाट जाने चार्टर्ड उडानकै टिकट काटिदिएका छन् ।

कतिपयले आफैंले चार्टर्ड उडान गर्न नेपालसँग अनुमति मागिरहेका छन् । केही कम्पनीले श्रमिकलाई आफ्नै खर्चमा जान भनेका छन् भने केही नेपाली श्रमिक टिकट खर्च नभएर अलपत्र छन् ।

नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *