राजनीति

के-के हुँदैछ, नेकपाको स्थायी कमिटी बैठकमा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २३ गते २०:४१
के-के हुँदैछ, नेकपाको स्थायी कमिटी बैठकमा ? (भिडियोसहित)

२३ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद समाधान उन्मुख बन्दै गएको छ । कार्यदल बनाएर पार्टी विभाजनको स्थितिलाई रोकेको नेकपाले आगामी २६ गते स्थायी कमिटी बैठक समेत बोलाएको छ ।

दुई महिनापछि निरन्तरता दिन लागिएको नेकपाको बैठकमा अब केके नयाँ विषयमा छलफल हुँदैछ त ? के स्थायी कमिटी बैठकपछि नेकपाको सम्पूर्ण विवाद समाधान होलान ?

नेकपाको स्थायी कमिटीको बैठक दुई महिनादेखि अलपत्र छ । असार १० बोलाइएको बैठक असार १८ गतेदेखि बस्न सकेको छैन । र, त्यसको कारण हो पार्टी भित्रको गुटगत संघर्ष । विवाद यसरी बल्झियो कि ओली र प्रचण्ड–नेपाल समूह एक अर्कालाई देखाई दिने अवस्थामा पुगे । र, त्यसको उत्कर्ष साउन १३ मा देखियो ।

ओलीले सल्लाह नै नगरी बैठक स्थगित गरिदिनुभयो भने प्रचण्ड नेपाल समूहले बैठक राख्यो । र, पार्टी विभाजनको अवस्थामा पुग्यो । दुई हप्ता संवादहीनतानै देखा पर्यो । र, साउन ३१ गते महासचिव विष्णु पौडेलको नेतृत्वमा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बन्यो ।

विभाजन रोक्न बनाइएको कार्यदलले प्रतिवेदन बुझाएपछि विवाद मिल्नेतिर गएको छ । वामदेव गौतमलाई राष्टिय सभामा लैजाने सचिवालयको निर्णय र २६ गते स्थायी कमिटी बैठक बस्ने सहमति त्यसैको संकेत हो । र,अब बस्ने स्थायी कमिटी बैठकमा कार्यदलको सुझाव र १८ गतेको सचिवालय बैठकमा उठेका विषय समेत समेटेर ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल हुनेछ ।

नेकपाको अवरुद्ध स्थायी कमिटी बैठकमा कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सङ्गठनात्मक एकताको बाँकी काम, एमसीसी र विविध गरी सातवटा एजेन्डा थिए ।

रुकुम घटना, नागरिकता विधेयक र कोभिड–१९ का कारण सांसद र अन्य राजकीय पदमा रहेकाको सेवा, सुविधा, भत्ता कटौतीबारे छलफल गर्ने बैठकको कार्यसूचि थियो । तर सीमा समस्या र समाधानमा छलफल हुँदा हुँदै भारतको ईशारामा मलाई हटाउन खोजियो भनेपछि प्रधानमन्त्रीको राजिनामा माग उठ्यो । र, भाँडभैलो भयो । त्यसैले २६ गतेको बैठकमा यी पूर्व एजेण्डामा छलफल त हुने नै छ । नयाँ एजेण्डाको पनि प्रवेश हुनेछ ।

अबको बैठकमा प्रचण्डको कार्यकारी भूमिका र वरिष्ठ नेता नेपालले माग राख्दै आएको एक व्यक्ति एक मुख्य जिम्मेवारी पनि बहसको विषय बन्ने छ । कार्यदलको प्रतिवेदलाई लिएर अध्यक्ष प्रचण्ड र नेपालले चित्त बुझाउनुभएको छैन ।

अध्यक्ष प्रचण्डले महासचिव पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग कार्यकारी अध्यक्षको थप व्याख्या नभएको भनेर असन्तुष्टी राख्नुभएको छ । वरिष्ठ नेता नेपालले पनि कार्यकारी भूमिको प्रष्टता नभएको र एक व्यक्ति एक पदको विषयमा उल्लेख नभएको भनेर सचिवालयमै असन्तुष्टि जनाई सक्नुभएको छ । त्यसैले यी विषय अब बस्ने स्थायी कमिटीमा राख्ने तयारी छ ।

यस्तै बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने र सरकार पूर्नगठन पनि गम्भीर छलफलको विषय बन्नेछ । कस्ता व्यक्तिलाई मन्त्री बनाउने भनेर बहस हुनेछ ।

विवाद समाधानका लागि सरकार पूनर्गठन गर्नुपर्ने कार्यदलकै सुझाव छ । त्यसैले यी सबै विषयलाई समेटेर अध्यक्ष ओली र प्रचण्डले नयाँ ठोस कार्य योजनासहितको प्रस्ताव स्थायी कमिटीमा लैजानुुहुनेछ । किनकी अन्तिम निर्णय स्थायी कमिटीबाटै गर्ने तयारी छ ।

विधि पद्धतिको कुरालाई लिएर पार्टीभित्र अन्तरसंघर्ष भएपनि भागबन्डामा नेकपाको विवाद टुङ्गिन् लागेको छ । किनकी यो अन्तरसंघर्षमा कसैले पद बचाउने र कसैले फुत्काउने गरी नै केन्द्रीत भएको प्रष्टै देखिएको छ । त्यसैले मुलुकलाई यति लामो समयसम्म अन्यौलमा राख्ने गरी भएको विवादको औचित्य पुष्टि गर्न नेकपालाई सकसै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्