Main News

कोरोना संक्रमितको शव व्यवस्थापन, कार्यविधि एकातिर व्यवहार अर्कातिर (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २३ गते २०:२२
कोरोना संक्रमितको शव व्यवस्थापन, कार्यविधि एकातिर व्यवहार अर्कातिर (भिडियोसहित)

२३ भदौ, २०७७, काठमाडौं । हाम्रो समाजमा मृत्युसंस्कार धार्मिक आस्था र परम्परासँग जोडिएको छ । मृत्यु संस्कारलाई महत्वपूर्ण मानिने भएपनि कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको आफन्तहरुले भने आफ्नो आफन्तको मृत्यु संस्कार गर्न पाएका छैनन् । कोरोना संक्रमितको शव व्यवस्थापनको कार्यविधि बनेपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

काठमाडौंका लिखितेन्द्र श्रेष्ठले कोरोना संक्रमणका कारण अस्पतालको आइसोलेसन कक्षमा हुनुहुन्छ । कोरोना कै कारण आफ्नो बुबा गुमाएका लिखितेन्द्रको अहिले एउटै गुनासो छ । उहाँले बुबाको न दाहसंस्कार गर्न पाउनु भयो , न त एकपटक मुख हेर्न ।

बुबाको मृत्यु हुँदा लिखितेन्द्र अस्पतालको आइसोलसनमै हुनुहुन्थ्यो । सेनाको टोलीले पशुपति लगेर विद्युतीय शवदाह गृहमा बुबाको अन्त्येष्टि गरिदियो । संक्रमण भएर आइसोलेसन सेन्टरमा रहेकाले मात्रै होइन, अधिकांश कोरोना संक्रमण नभएकाले पनि आफन्तको दाहसंस्कारको त कुरै छोडौ, अन्तिममा मुखसमेत हेर्न पाएका छैनन् । सरकारले हिन्दू, बौद्ध, मुस्लिम जुनसुकै धर्मावलम्बी भए पनि काठमाडौं बाहिर कोरोना संक्रमण भएर ज्यान गएमा गाड्ने गरेको छ ।

त्यसैले दाहसंस्कार गर्न पाउनु पर्यो भन्दै उच्च अदालत विराटनगरमा मुद्दानै पर्‍यो । उच्च अदालत विरानगरले भदौ ८ गते कोरोना संक्रमितका आफन्तले धार्मिक विधि अनुसार अन्त्येष्टि गर्न पाउनु अधिकार भएको फैसला सुनायो । पहिले सैनिकले नै लगेर शव गाड्ने गरेकोमा उच्च अदालतको फैसलापछि सावधानीसहित दाहसंस्कारको व्यवस्था गरिएको छ ।

कोरोना संक्रमित मृतकका आफन्तले अन्त्येष्टिमा सहभागी हुन, मुद्दा नै हाल्नु पर्ने र हार गुहार नै गर्नुपर्ने भने होइन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन कार्यविधि २०७६ बनाएको छ । र यो कार्यविधि अनुसार सावधानी अपनाएर परिवारले कोरोना संक्रमितको मृत्युसंस्कार गर्न पाउँछन ।

कार्यविधिमा परिवारले दुई मिटर दूरी कायम गरेर शव हेर्न सक्ने, नछोइकन धार्मिक विधि गर्न सकिने व्यवस्था छ । अझ संक्रमितको मृत्यु घरमै भएमा त मृतकको परिवारले नै सजगता अपनाएर अन्तिम संस्कार गर्न पाउने कार्यविधिमा उल्लेख छ । तर यो कार्यविधि कागजमा छ व्यवहारमा होइन ।

चिकित्सकका अनुसार शवबाट कोरोना भाइरस संक्रमण हुने सम्भावना अति नै न्यून छ । तैपनि कोरोना सर्ने भन्दै शव आफन्तलाई हेर्न नदिने, मृत्यु संस्कार गर्न नदिने र सेनाले लगेर गाड्ने काम भइरहेको छ । जुन कार्यविधिको मर्मविपरीत रहेको बताउनुहुन्छ–कार्यविधि बनाउने टोलीका सदस्यसमेत रहेका फरेन्सिक विशेषज्ञ डाक्टर हरिरर वस्ती ।

कोरोना संक्रमितको मृत्यु संस्कारका विषयमा सरकारको कार्यविधि र व्यवहार बाँझिएको छ । र, यसले आफन्त गुमाउनेहरुलाई पीडामाथि पीडा थपेको छ । त्यसैले आफन्तको पनि चित्त नदुख्ने र कोरोना संक्रमणबाट पनि जोगिने गरी कार्यविधि लागू गरेर काम गर्नु नै राम्रो हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *