Main News

नेपाललाई यही वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा नहुने निश्चित

हिमालय टिभी
२०७७ भदौ २३ गते ८:११
नेपाललाई यही वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा नहुने निश्चित

२३ भदौ, २०७७ काठमाडौं । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा नहुने भएको छ ।

कोरोना भाइरसका कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा हुन नसक्ने भएको हो ।

सरकारले यस वर्षको बजेट भाषण मार्फत साक्षर हुन बाँकी २४ जिल्ला अभियानका रूपमा सञ्चालन गरी साक्षर नेपाल घोषणा गरिने सार्वजनिक गरेको थियो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमण न्यून भएको अवस्थामा मात्र यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुुभयो ।

साक्षरता अभियानमा स्थानीय तहलाई जिम्मेवार बनाई कार्यक्रम सञ्चालन गरिनेछ । करिब ७८ लाख निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्यले आर्थिक वर्ष २०६५–६६ मा साक्षरता अभियान घोषणा गरिएको भए पनि अझै त्यो लक्ष्य पूरा हुन सकेको छैन ।

अझै २४ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् भने ५३ जिल्ला साक्षर घोषणा गरिएको छ । प्रदेश–२ का सबै जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

राजधानी रहेको काठमाडौँ जिल्लासमेत साक्षर घोषणा हुन सकेको छैन । नेपालमा १५ वर्षदेखि माथिको जनसङ्ख्याको साक्षरता दर ८२ प्रतिशत रहेको सरकारी तथ्यांक छ ।

यसैबीच आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, आजकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकोमा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ ।

२०६२ सालसम्म फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइने गरेकोमा जनआन्दोलनका कारण २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन सँगै मनाउन थालिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *