Main News

सरकारले किन भेटेन चार वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते २०:३९
सरकारले किन भेटेन चार वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी ? (भिडियोसहित)

२२ भदौ, २०७७, काठमाडौं । आज निजामति सेवा दिवस । दिवसका अवसरमा सरकारले ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ बाट ४० जनालाई सम्मान गरेको छ ।

तर सरकारले पुरस्कारका लागि योग्य सर्वोत्कृष्ट कर्मचारी नभेटेको भन्दै यो पुरस्कार भने कसैलाई पनि दिएन । लगातार चौथो पटक सर्वोत्कृष्ट कर्मचारी नभेटिँदा कर्मचारी मात्रै होइन, सरकारको सोच र क्षमता माथि पनि प्रश्न उठेको छ ।

यो वर्ष पनि मुख्यसचिव नेतृत्वको समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारी छनोट गर्यो । तर यसपटक पनि सर्वोत्कृष्ट’ पुरस्कारका लागि कर्मचारी भेटेन । र, सर्वोत्कृष्ट कर्मचारी नभेटिएको चौथो वर्ष हो ।

अन्तिम पटक २०७३ सालमा तत्कालीन अर्थ सचिव शान्तराज सुवेदीले २ लाख रुपैयाँको सर्वोत्कृष्ट निजामति पुरस्कार पाउनु भएको थियो । एक लाख भन्दा बढी कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी नभेटेकोमा सरकारमाथि प्रश्न उठेको छ ।

पुरस्कारका लागि कोही फेला नपर्नुले सबै कर्मचारी उस्तै हुन राम्रा छैनन भन्ने सन्देश प्रवाह भैरहेको छ, सरकारकै कारण । तर यसले कर्मचारीका बारेमा होईन, सरकारका बारेमा प्रश्न उठेको छ । मूल्यांकन वा निर्णय पद्धतिमा खोट रहेको र छनौट समितिले जोखिम उठाउन नसक्दा सिंगो कर्मचारी संयन्त्रका बारेमा गलत सन्देश गएको पूर्व मुख्यसचिव कोईरालाको मूल्याङ्कन छ ।

अहिले पोहोर परारको भन्दा परिस्थिति फरक थियो । सरकारले सर्वोत्कृष्ट कर्मचारी छनौट गर्न सक्थ्यो । किनकी कोरोना कहरले देश नै प्रभावित छ । र कोरोना रोकथाम र संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने कुनै स्वास्थ्यकर्मीलाई सर्वोत्कृष्ट पुरस्कार दिन सकिन्थ्यो । तर यसमा सरकार चुकेको छ ।

यो देशमा उत्कृष्ट कर्मचारी नभएका हैनन्, छन् । चाकडी, दलाली र कमिसनमा व्यस्त भीडले उनीहरु छायाँमा परेका छन । खोज्ने फुर्सद र सोच मात्रै नभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *