निजामती सेवा पुरस्कारका लागि ४० जना कर्मचारी छनोट

२२ भदौ, २०७७ काठमाडौं । आज निजामती सेवा दिवस । सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ ।
तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने फेला नपरेको यो लगातार चौथो वर्ष हो । सरकारले निजामती सेवा दिवसका दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीलाई सम्मान गर्ने गरेको छ ।
आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारी छनोट भएका छन् । तर, एक जनाले मात्रै पाउने २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट कर्मचारी भने यो वर्ष पनि छनोट हुन सकेन ।
पुरस्कृत हुने कर्मचारीको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारी छानेको छ ।
तर सर्वोत्कृष्ट पुरस्कारका लागि देशभर कार्यरत झण्डै एक लाख कर्मचारीमध्ये एक जना पनि छनोट हुन सकेनन् । दिवसका अवसरमा कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ ।
स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ सुशासन र विकासको बाटोमा अग्रसर हुनसमेत प्रधानमन्त्रीको अपिल छ ।
प्रतिक्रिया