रातो मच्छिन्द्रनाथको मूर्ति रथबाट निकाल्ने साइत जुर्यो

२२ भदौ, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाल्न भदौ २९ गतेको साइत जुरेको छ ।
ज्योतिषीहरुले मछिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर बुङ्गमति लैजाने २९ गतेको साइत निकालेका हुन् । २९ गते विहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट अवतरण गराईने छ ।
र त्यसलगत्तै मूर्तिलाई ललितपुरकै बुङमति लगिनेछ । कोरोना भाइरस संक्रमणका कारण यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम हुने छैन । मूर्तिलाई बुङमती लगेको चारदिनमा विशेष पूजाआजा गरी जात्रा समाप्त गरिने ज्योतिषी कृतिकिरण जोशीले जानकारी दिनुभयो ।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोरोना भाइरस महामारीका कारण रोकिएको थियो ।
लामो समय रथ तान्ने विषयमा निर्णय हुन नसकेपछि गत बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय बासिन्दाले रथ तानेपछि प्रहरीसँग झडप भएको थियो ।
त्यसपछि प्रशासनकै सहमतिमा शुक्रबार क्षमा पूजा गरी हिजो रथ तानेर सोह्रखुट्टे पाटीसम्म लगिएको थियो । अब यही पाटीमा जात्राका अरु विधि पूरा गरि मछिन्द्रनाथलाई २९ गते बुङ्गमति लगिने छ ।
प्रतिक्रिया