Main News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्को बदमासी, किन दिएन स्थानीय सरकारलाई संक्रमितको रिपोर्ट ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २० गते २०:२३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्को बदमासी,  किन दिएन स्थानीय सरकारलाई संक्रमितको रिपोर्ट ? (भिडियोसहित)

२० भदौ, २०७७ दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने कोरोना परीक्षण रिपोर्टको सूचना जिल्लाका सम्बन्धित निकायले नपाउँदा संक्रमण नियन्त्रणमा समस्या भएको छ । प्रतिष्ठानले परीक्षणको सूचना जिल्ला स्वास्थ्य कार्यालयलाई समेत दिने गरेको छैन । सूचना नभएपछि कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र ब्यवस्थापनमा चुनौति थपिएको छ ।

केही समयअघि स्थानीय सरकारले कोरोना परीक्षणको रकम भुक्तानी नगरेको भन्दै स्वाब फर्काएर बद्‍नामी कमाएको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले फेरि सूचना लुकाएर विवादमा तानिएको छ । प्रतिष्ठानले अहिले स्वाब परीक्षण त गरिरहेको छ तर समयमै सूचना नदिएर समस्या पारिरहेको छ । समयमा सूचना नपाउँदा संक्रमितको व्यवस्थापन र उपचारमा स्थानीय सरकारलाइ सास्ती भइरहेको छ ।

भदौ १३ गते विभिन्न स्थानिय तहबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थियो । प्रतिष्ठानले त्यसको रिपोर्ट पनि दिन आनाकानी गरेको छ ।

प्रतिष्ठानले रिपोर्ट नदिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले सामाजिक संजालमै आपत्ति जनाउनुभयो । तर त्यसले पनि प्रतिष्ठानलाई केही फरक पारेन । त्यसपछि समयमै रिपोर्ट उपलब्ध गराईदिन भन्दै स्वास्थ्य कार्यालयले पत्र पठाए पनि कुनै सुनुवाइ भएको छैन ।

प्रतिष्ठानबाट सूचना नपाएपछि जिल्लाका संचारमाध्यमलाई पनि समस्या भइरहेको छ ।

प्रतिष्ठानले अहिले कोरोना परीक्षणको रिपोर्ट संघीय सरकारलाई मात्रै पठाउने गरेको छ । दाङबाट सूचना पहिले काठमाडौं पठाउने र काठमाडौंबाट मातहतको निकायमा सर्कुलर गरिँदा निकै ढिलो हुने गरेको छ । यसले कोरोना संक्रमण पुष्टि भएकाको व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङमा समस्या भइरहेको छ । यसबारे प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीले भने यसबारे कुनै पनि प्रतिक्रिया दिन अश्विकार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *