Main News

अर्थमन्त्री खतिवडाको अढाइ वर्षः कति सफल कति असफल ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १९ गते १९:४५
अर्थमन्त्री खतिवडाको अढाइ वर्षः कति सफल कति असफल ? (भिडियोसहित)

१‍९ भदौ, २०७७, काठमाडौं । २ कार्यकाल गरेर साढे २ वर्ष अर्थ मन्त्रालयको बागडोर समालेका डाक्टर युवराज खतिवडाले राजीनामा दिनु भएको छ । गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा निक्कै सफल ठहरिएका डाक्टर खतिवडाको कार्यकाल अर्थमन्त्रीका रुपमा कस्तो रह्यो त ? हेरौँ यो समीक्षा ।

२०७४ फागुन १४ गते डाक्टर युवरात खतिवडा अर्थमन्त्री बनेपछि अर्थतन्त्र बुझ्नेले सही पद पाएको भन्दै उहाँबाट धेरैले ठूलो अपेक्षा राखेका थिए ।

अर्थमन्त्री भएको एक महिनामा खतिवडाले देशको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दै अघिल्ला सरकारका कारण अर्थतन्त्र निकै धराशायी रहेको देखाउनुभयो । धराशायी अर्थतन्त्रलाई उकास्न खतिवडाले के के गर्नुभयो त भन्ने जवाफमा खोज्ने हो भने उहाँ वित्तीय अनुशासन पालनामा सफल रहनुभयो ।

उहाँको कार्यकालमा मन्त्रालयले मनपरी रुपमा बजेट छर्ने, मन्त्री र कर्मचारीले आफू निकटका क्षेत्रमा बजेट छर्ने प्रवृति कम भए । स्वार्थअनुरुप काम नगरिदिएको तथा कुरै नसुनेको भन्दै पार्टीकै सांसद, नेता तथा व्यापारीले खतिवडाको विरोध गरिरहे । व्यवसायीको कुरा नसुनेको भन्दै निजी क्षेत्र समेत खतिवडासँग खुशी थिएन् ।

केन्द्रिकृत अर्थव्यवस्था चलिरहेको देश संघीयतामा गएपछि चूनौतिपूर्ण मानिएको वित्तीय संघीयता कार्यन्वयनको जग बसाएको जस खतिवडालाई जान्छ । पहिलो वर्ष तीन तहका सरकारबीच वित्तीय स्रोतलाई लिएर केहि विवाद देखिए पनि त्यसपछिका वर्षमा भने विवाद देखिएको छैन् ।

खतिवडाका पालामा राजस्व चुहावट नियन्त्रणमा उल्लेख्य सुधार भयो । अनिवार्य प्यान नम्बर, केही वस्तुको आयातमा दिँदै आएको भ्याट फिर्ताको सुविधा खारेज गरियो जसकारण वर्षौँदेखि सीमित व्यवसायीको रजाँई अन्त्य भयो । केहि नीतिगत कडाइ कारण आयात घट्दै गएको छ भने निर्यातमा केही सुधार देखिन थालेको छ ।

यी साढे २ वर्षमा मूल्यवृद्धि नियन्त्रण बाहिर जान पाएको छैन् भने रेमिट्यान्स घटेको छैन् । विदेशी मुद्रा सञ्चिति बढेर एक वर्ष भन्दा बढीको आयात धान्ने अवस्थामा पुगेको छ । खतिवडाअघि ५ देखि ८ महिनासम्मको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहने गरेको थियो । आर्थिक वर्ष २०७५–७६ मा वैदेशिक लगानी १३ अर्ब रुपैयाँ भित्रिएकोमा गत आर्थिक वर्ष १९ अर्ब रुपैयाँ भित्रिएको छ ।

खतिवडाको कार्यकाल भरी बहुपक्षीय दातृ निकायको भने दरिलो साथ रह्यो । कोरोना महामारीका बीच स्रोत व्यवस्थापनमा समस्या परिरहेका बेला तथा त्यसअघि समेत विश्व बैंक, एडीबी, आइएमफजस्ता निकायले बजेटरी सहायता बढाए ।

साढे २ वर्षे कार्यकालमा थुप्रै सुधारका काम गरे पनि विज्ञ अर्थमन्त्री भएका उहाँको पालामा पराम्परागत अर्थ प्रणाली सञ्चालनमा फरक आउन सकेन ।

खतिवडाको पहिलो बजेट सन्तुलित थियो । तर त्यसको पार्टीभित्रैबाट चर्को आलोचना भएपछि दोश्रो वर्षमा भने उहाँले वितरणमुखी बजेट ल्याउनुभयो । आर्थिकरुपमा टाउको दुखाईको विषय रहँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई वैज्ञानिक बनाउने प्रयास उहाँले गर्नुभएन । सरकारी खर्च प्रणालीमा सुधार देखिएन् । वर्षभरी उठेको राजस्वलाई चालू खर्चले जित्यो । तर लक्ष्यको आधा समेत विकास खर्च नहुने प्रवृति खतिवडाको पालामा रोकिएन ।

सरकारको आलोचना हुने विष‍यका तथ्यांक र सूचक लुकाउन र तोडमोड गराउन लगाएको आरोप समेत‍ उहाँमाथि लाग्ने गरेको छ ।
खतिवडाको पालमा समेत राष्ट्रिय गौरवका आयोजनाको समस्या ज्युँकात्युँ छ भने बजेट कार्यान्वयन पनि फितलो रह्यो । खतिवडाले सबैभन्दा चर्को आलोचना कर बढाएको विषयमा हुने गरे पनि लक्ष्यअनुरुप राजस्व संकलनमा उहाँ दुबै वर्ष चुक्नुभयो ।

चकलेटमा कर घटाएको तर पुस्तक र विद्युतीय सवारीसाधनमा कर बढाएकोदेखि व्यवसायीदेखि साधारण जनतासम्मलाई कर थोपरेर शोषण गर्ने काम गरेको भन्दै खतिवडाको विरोध भइरह्यो ।

खतिवडाका पालामा समेत न त नयाँ उद्योग कलकारखाना सञ्चालन हुन सक्यो न त नयाँ रोजगारी सृजना हुन सक्ने गतिला कार्यक्रम नै आए । राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड लगायतका निकायदेखि कर्मचारी वृतलाई समेत हस्तक्षेप गरेको आरोपबाट खतिवडा मुक्त हुनु भएन । सेयर बजारलाई अनुत्पादक भनेकै कारण खतिवडाका पालमा सेयर बजारमा उत्साह देखिएन् । यद्यपि उहाँको बहिर्गमनको चर्चा सुरु भएसँगै सेयर बजारमा पुन उत्साह देखिन थालेको छ ।

कोरोनाबाट प्रताडित बनेका लाखौँ जनता दैनिक गुजाराको समस्यासँग जुधिरहेकै छन् । तर पनि उनीहरुको पीडा अर्थमन्त्रीका रुपमा खतिवडाले नबुझेको र राहतको जिम्मा स्थानीय तहलाई दिएर संघले राहातका कार्यक्रम नल्याएको भन्दै नागरिक निराश भए । त्यसैले लकडाउन र निषेधाज्ञाले गर्दा रोजीरोटी गुमाएर दैनिक गुजारा गर्न समस्या झेलिरहेका लाखौँ नागरिकले उहाँलाई सम्झनुपर्ने कुनै कारण नरहेको धेरैको भनाई छ ।

यसरी अनुकुल समयमा शक्तिशाली अर्थमन्त्री हुँदा समेत खतिवडाले बृहत् नीति निर्माण गरेर अर्थतन्त्रको बलियो जग बसाल्ने काममा असफल रहनुभयो । यद्यपी विगतका अर्थमन्त्रीजस्तो राज्यको ढुकुटी दोहन हुन पाएन भने आर्थिक चलखेलका घटनाका विवादमा भने खतिवडा मुछिएनन् । त्यसैले साढे २ वर्षे उहाँको कार्यकाल यसअघिका थुप्रै मन्त्रीको जस्तो विर्सनलायक भने हुन पाएन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *