Main News

विराटनगरका अस्पताल चहार्दाचहार्दै उपचार नपाएर गर्भवतीको यसरी गयो ज्यान

हिमालय टिभी
२०७७ भदौ १९ गते १३:०६
विराटनगरका अस्पताल चहार्दाचहार्दै उपचार नपाएर गर्भवतीको यसरी गयो ज्यान

१९ भदौ, २०७७, विराटनगर । विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मोरङ कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीया गर्भवतीको मृत्यु भएको छ ।

बुधबार राति विराटनगरका अस्पतालले फर्काएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएकी सात महिनाकी गर्भवती महिला २३ वर्षीया सविना थापा दर्जीको मृत्यु भएको हो ।

बुधबार राति एम्बुलेन्समा ल्याएका परिवारका सदस्यले बिहान साढे २ बजेसम्म विराटनगरका विभिन्न अस्पताल डुलाएका थिए । तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानमा पुर्याएलगतै उहाँको मृत्यु भएको उहाँका श्रीमान् भरत दर्जीले बताउनुभयो । सविना मंगलबार राति १० बजेतिर शौचालयमा लडेर घाईते हुनु भएको थियो । तत्काल अवस्था सामान्य रहे पनि भोलिपल्ट स्वास्थ्य गम्भीर बन्दै गएपछि परिवारका सदस्यले बुधबार राति उपचारका लागि विराटनगर ल्याएका थिए ।

परिवारका सदस्यले नोबेल, विराट शिक्षण, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल र सुरक्षा अस्पताल पुर्याएका थिए । तर राति साढे २ बजेसम्म एम्बुलेन्समा राखेर ती अस्पताल लगिएपनि कुनै अस्पतालले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताउनुभयो।

अस्पतालले आईसीयू र भेन्टिलेटर नभएको बहाना बनाएर गेटबाट फर्काइदिएको दुर्गाको भनाइ छ । एकमात्र सरकारी अस्पताल कोशी अस्पतालका नर्सहरुले कोरोनाका बेला बिरामी ल्याएको भन्दै बिरामीका आफन्तलाई हप्कीदप्की समेत गरेको उहाँको गुनासो छ ।

विराटनगरका अस्पतालहरूमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान करिब साढे दुई बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानले आकस्मिक कक्षमा सामान्य उपचारपछि प्रसूति कक्षमा रेफर गरेको थियो । तर प्रसूति कक्षमा पुर्‍याएर उपचार थालेको आधा घण्टामा सविनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *