पाटनका बासिन्दाले आजै रथ तान्न थाल्नुको खास कारण के हो ? (भिडियोसहित)

Himalaya Television
२०७७ भदौ १८ गते २०:०४

पाटनका बासिन्दाले आजै रथ तान्न थाल्नुको खास कारण के हो ? (भिडियोसहित)

१८ भदौ, २०७७, ललितपुर । प्रशासनले रोक्दा रोक्दै ललितपुरका बासिन्दाले आज किन रातो मछिन्द्रनाथको रथयात्रा शुर गरे त ? रातो मछिन्द्रनाथको पाटनसँगको साइनो र आजै रथ तान्न थाल्नुको कारण बारे बुझौँ अब ।

काठमाडौं उपत्यकामा सबैभन्दा लामो समयसम्म चल्ने रातो मछिन्द्रनाथको रथ जात्रा चैतमै शुरु हुने पर्ने थियो । तर लकडाउनका कारण चैतमा रथ बनाउने काम नै हुन सकेन । जब असारमा लकडाउन खुकुलो भयो त्यसपछि क्षमापूजा गरेर पुल्चोकमा रथ निर्माण शुरु गरियो ।

चैतमा रोकिएको जात्रा भदौ १ गतेदेखि शुरु गर्ने तयारी थियो । तर कोरोना संक्रमण बढेका कारण रथ यात्रा शुरु गर्न प्रशासनले दिइएन । भदौ ३ गतेदेखि त काठमाडौं उपत्यकामा निषेधाज्ञा नै लागु भयो । जात्रा हुने कुरै भएन ।

तर ललितपुर खासगरी पाटनका बासिन्दा भदौमै रथ यात्रा शुरु गर्न चाहन्थे । असोजमा मलमास पर्ने भएकाले त्यतिबेला रथ तान्न नहुने मान्यता छ । मलमास पछि लगत्तै दशै शुरु हुन्छ ।

दशैंअघि रथयात्रा सम्पन्न गरेर मछिन्द्रनाथलाई बुङ्गमती लैजान नसके रातो मच्छिन्द्रनाथ र मछिन्द्रनाथको भोटोमा भक्तपुरले दावी गर्छ भन्ने जनश्रुति छ । र धार्मिक मान्यता अनुसार मछिन्द्रनाथ र भोटोलाई मावली भक्तपुर हस्तान्तरण गर्नुपर्ने सांस्कृतिक दवाव पाटनका बासिन्दामा थियो । त्यसैले उनीहरुले मलमास अघि नै रथयात्रा गर्न चाहेका थिए ।

जसअनुसार रथयात्रा शुरु गर्न पुजारी गुठियार र स्थानीय बासिन्दाले गुठी संस्थान र जिल्ला प्रशासन सबैतिर भनसुन गरे । कर्फ्यु लगाई सीमित मान्छेले मात्र रथ तानेर जात्राको विधि पूरा गर्ने प्रस्ताव पनि राखे । तर सुनुवाई भएन । उनीहरुले रथयात्रा गराउन गराई दिन आग्रह गर्दै भदौ ७ गते राष्ट्रपति समक्ष समेत निवेदन दिए । अहँ कतैबाट पार लागेन ।

रथा नताने मछिन्द्रनाथ भक्तपुरलाई दिनुपर्ने मनोवैज्ञानिक त्रास र दबाबमा रहेका पाटनका बासिन्दा कोरोना कहरमा पनि रथ तान्न अघि सरे ।

उनीहरुलाई आफ्नो धर्म, संस्कृति र परम्पराका सामु कोरोनाको कुनै डर लागेन पुल्चोकमा भेला भएको यो भीडले त्यही भन्छ ।

स्थानीय बासिन्दाले रथ तान्न शुरु गरेपनि प्रहरी बाधक बन्यो । पुल्चोकमा दिनभर झडप भयो । शायद स्थानीय बासिन्दाको आग्रह अनुसार प्रशासनले सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिने गरेर बिचको बाटो निकालेको भए यो दृश्य देख्नु पर्थेन ।

यो घट्नालाई सरकारले शिक्षाका रुपमा लिएर कहाँ कहाँ समन्वय गरेर अघि बढ्नुपर्ने हो त्यो सिक्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *