बागलुङ बाढीपहिरोमा १२ जनाको शव फेला, ४१ जना बेपत्ता

१८ भदौ, २०७७ बागलुङ । बागलुङको ढोरपाटनमा बाढी पहिरोले जनधनको ठुलो क्षति गरेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । ४१ जना बेपत्ता छन् ।
पहिरोले गाउँ नै बगाएको छ । अहिलेसम्म १२ जनाको शव फेला परेको र ४१ जनाको खोजी भइरहेको बाग्लुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
मृतकमध्ये एकजना २६ वर्षीया केशमाया विकको मात्रै सनाखत भएको छ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ मा गएराति बाढी र पहिरो गएको थियो । वडा नम्वर ८ र ९ मा बढी क्षति पुगेको छ ।
पहिरोले हेल्थपोष्टसहित ३१ घर बगाएको रेग्मीले जानकारी दिनुभयो । ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको टोली पुगेको छ ।
प्रहरी र नेपाली सेनाको टोलीले पुरिएकाहरुको खोजी गरिरहेको छ । घटनास्थल बाग्लुङ सदरमुकाम देखि १ सय २० किलोमिटर पश्चिममा पर्छ ।
पहिरोस्थलको निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा त्यसतर्फ गएका गृहमन्त्री रामबहादुर थापा मौसम खराव भएपछि पोखराबाटै फर्कनुभएको छ । पहिरोस्थलमा अहिले पनि वर्षा भइरहेकोले उद्धारमा कठिनाइ भइरहेको छ ।
प्रतिक्रिया