Main News

उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञाः केकेमा भयो खुकुलो, केकेमा भयो कडाइ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते १८:३९
उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञाः केकेमा भयो खुकुलो, केकेमा भयो कडाइ ? (भिडियोसहित)

१७ भदौ, २०७७ काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा फेरि एक हप्ता थपिएको छ । थपिएको निषेधाज्ञामा केही परिवर्तन गरिएको छ । तर धेरै प्रावधान पुरानै छन् । थपिएको निषेधाज्ञा अनुसार के के गर्न पाइन्छ र के गर्न पाइँदैन ?

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन ।

बालबालिका र ६० वर्षमाथिका व्यक्तिले भने कुनै पनि हालतमा घर बाहिर निस्किन पाउने छैनन् ।

अत्यावस्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन ।

मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षानिकायले प्रयोग गर्ने सवारी साधन बाहेक कुनै पनि सवारी साधन उपत्यका प्रवेश गर्न पाउनेछैन । काठमाडौं बाहिरबाट आएका मालबाहक गाडीका चालक र सहचालकले अनिवार्य रुपमा क्वारन्टिनमा बस्नु पर्ने छ ।

मेला, महोत्सव, जात्रा, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न पाइने छैन ।

शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टियूशन सेन्टर, भाषा कक्षा लगायतका क्रियाकलापहरु सञ्चालन गर्न पाइनेछैन ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न पाइँदैन ।

फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरा समेत सञ्चालन गर्न पाइने छैन ।

परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन् ।

के गर्न पाइन्छ ?
अत्यावस्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका संचालन गर्न पाइनेछ ।

खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसल बिहान ११ बजेसम्म खुल्ला गर्न पाइने छ ।

पिसिआर नेगेटिभ आएका व्यक्तिले टेक अवे सेवा सञ्चालन गर्न पाउँछन् । यस्तै अत्यावश्यक सेवा होमडेलिभर गर्न पाइने छ । तर त्यसरी डेलिभरी दिने व्यक्तिले कोरोना परीक्षणा गरेर नेगेटिभ रिपोर्ट आएको हुनु पर्छ ।

कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावस्यक भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि विहान ९ बजे देखि साढे १० बजे सम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजे सम्म आवागमन गर्न दिइने छ ।

बैंकिङ सेवाका लागि न्युनतम कर्मचारी राखेर सेवा प्रवाह गर्न पाइनेछ । बैंकलाई पनि सकेसम्म भर्चुअल वा बिद्युतीय माध्यबाट सेवा दिन निर्देशन दिइएको छ ।

अत्यावस्यक सेवाका लागि घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्न समेत निर्देशन दिएको छ ।

हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखेरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानून बमोजिम कारबाही हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *