काठमाडौं उपत्यकामा लम्बिएला निषेधाज्ञा ? आज निर्णय हुँदै

१७ भदौ, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउनेबारे आज निर्णय हुँदैछ ।
यही भदौ ३ गते बुधबारदेखि जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी आजसम्म पु¥याइएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यस विषयमा छलफल भएको र आज निर्णय हुने जानकारी दिनुभयो ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय लिन सकेका छैनन् ।
सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था नियमित सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन । उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् ।
स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने तयारी छ ।
प्रतिक्रिया