राजनीति

खतिवडाको ठाउँमा वामदेव छिर्न खोज्दा नेकपामा विवाद (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १६ गते २०:२५
खतिवडाको ठाउँमा वामदेव छिर्न खोज्दा नेकपामा विवाद (भिडियोसहित)

१६ भदौ, २०७७, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकाएक फेरि राष्ट्रिय सभामा जाने चाहना देखाएपछि सत्तारुढ नेकपामा विवाद बल्झिने संकेत देखिएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाको राष्ट्रिय सभाको पदावधि भदौ २० गते सकिनै लाग्दा खतिवडाको ठाउँमा मनोनित भएर छिर्ने गौतमको दाउ छ । प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई नै मनोनित गर्ने योजनामा रहेका बेला गौतमको चाहनाले नेकपामा तरंग सिर्जना गरेको छ ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने विषय समाप्त भैसकेको बताउनुभएको थियो । अर्थात प्रधानमन्त्रीका अनुसार गौतम च्याप्टर क्लोज भैसक्यो । तर स्वयं नेकपाका उपाध्यक्ष वामदेव गौतमले नै प्रधानमन्त्रीको प्रतिवादमा उत्रिनुभएको छ ।

गौतमले भन्नुभएको छ–च्याप्टर क्लोज भएको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनुपर्छ । म राष्ट्रिय सभामा जान तयार छु ।’ यो कुरा गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनिसक्नुभएको छ ।

गौतमले राष्ट्रिय सभामा जाने कुरा ठीक यस्तो बेला ल्याउनुभएको छ, जति बेला प्रधानमन्त्री केपी शर्मा ओली अहिलेकै अर्थमन्त्रीलाई निरन्तरता दिने तयारीमा हुनुहुन्छ । यसले ओलीलाई अफ्ठेरोमा त पारेको छ नै नेकपाभित्र विवाद बढ्ने देखिएको छ ।

भदौ २० गतेदेखि अर्थमन्त्री डाक्टर युवराज खतिवडाको राष्ट्रिय सभाको पदावधि सकिनै लाग्दा त्यही ठाउँमा छिर्ने गौतमको दाउ छ । यसमा गौतमलाई कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ छ ।

प्रचण्ड नेपाल समूहकै योजनामा गौतमले यस्तो प्रयास परेको बताइएको छ । किनकी प्रचण्ड र नेपाल पनि अर्थमन्त्री खतिवडालाई फेर्ने पक्षमा हुनुहुन्छ । र, त्यसका लागि यो उपयुक्त मौका भएको प्रचण्ड–नेपाल समूहको बुझाई छ ।

प्रचण्ड नेपाल पक्षले कार्यदलको पछिल्लो रिपोर्ट र गत फागुन १४ सचिवालय निर्णयलाई आधार मानेर गौतमलाई राष्ट्रिय सभामा लैजान खोजेको छ ।

कार्यदलले मन्त्रिपरिषद हेरफेरको सुझाव दिएको छ भने फागुन १४ को सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । यसो गर्दा यहीँबाट ओलीलाई पार्टी निर्णय कार्यान्वयन गराउने कामको थालनी हुने र पार्टीलाई उपेक्षा गर्ने ओलीको प्रयास कमजोर हुने यो समूहको बुझाई छ । एक सचिवालय सदस्यका अनुसार गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कायमै छ ।

तर प्रधानमन्त्री ओलीले पनि गौतमको च्याप्टर क्लोज भयो त्यसै नभनेको ओली निकट नेताहरुको दावी छ । यस्तै अनुमान गरेर ओलीले भन्नुभएको हो ।

गौतमको पछिल्लो चाहना र प्रचण्ड–नेपाल समूहको यसमा समर्थनलाई आफूलाई अफ्ठेरो पार्ने अर्थमा बुझ्नुभएको छ । गौतम एका एक यसरी आउनुलाई ओलीले शंकाको रुपमा हेर्नुभएको छ । गौतमको अहिलेको प्रयासलाई प्रधानमन्त्रीले ठीक त्यसै अर्थमा बुझ्नुभएको छ, यसअघि जतिबेला गौतमले जान्न भनेर पछि एकाएक जान्छु भनेर ओलीसँग निहुँ खोज्नुभएको थियो ।

वामदेव मार्फत प्रचण्ड–नेपाल लगायतका नेताले आफूलाई अफ्ठेरो पारेपछि प्रधानमन्त्रीले त्यतिबेला खतिवडालाई पनि सिफारिस गर्नुभएन भने गौतमलाई लैजाने सचिवालयको निर्णय पनि कार्यान्वयन गर्नुभएन । र, यसले विवाद बल्झिदै गएर प्रधानमन्त्रीको राजिनामाको माग समेत भयो ।

गौतमलाई छिराउने र खतिवडालाई बाहिर निकाल्ने चाहनामा भैरहेको नेकपाको विवाद पछिल्लो पटक कसरी किनारा लाग्छ हेर्न बाँकी छ । संभवत यसको संकेत नेकपाको आगामी १८ गते बस्ने सचिवालय बैठकमा देखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्