Main News

आइसीयू र भेन्टिलेटरमा बिरामी बढेपछि चिकित्सक चिन्तित, भन्छन–‘भ्रम नछरौं’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १६ गते २०:१८
आइसीयू र भेन्टिलेटरमा बिरामी  बढेपछि चिकित्सक चिन्तित, भन्छन–‘भ्रम नछरौं’ (भिडियोसहित)

१६ भदौ, २०७७, काठमाडौं । आइसीयू र भेन्टिलेटरमा बिरामीको चाप बढेपछि उपचारमा समस्या हुन थालेको छ । मृत्युदर बढिरहँदा चिकित्सक र स्वास्थ्यकर्मी पनि अहिले चिन्तामा छन् ।

कोरोना संक्रमितको संख्या आइसोलेसनमा मात्रै होइन भेन्टिलेटर र आइसियूमा पनि दिनहुँ बढेको छ । स्वास्थ्य संस्थाहरुमा चाप बढेको छ । संक्रमण फैलिइरहेकाले उपचारमा कठिनाइ हुन थालिसकेका छ । उपचारमा संलग्न चिकित्सकमा पनि डर र चिन्ता बढेको छ ।

कोरोनाका कारण नागरिकको जीवनशैली कष्टकर बनिरहेको छ । यो अवस्थामा लकडाउन, निषेधाज्ञा लगाउँदै सरकारले संक्रमण फैलन नदिन प्रयास पनि गरिरहेको छ । तर त्यसले खासै काम गरेको छैन । हरेक दिन ठुलो संख्यामा संक्रमित थपिइरहेका छन् । अहिलेकै जस्तो स्वास्थ्य सेवा प्रवाहले कोरोनासँग जुध्न कठिन हुने चिकित्सक बताउँछन् ।

नेपालमा कोरोना संक्रमण देखिएको ६ महिना पुगिसकेको छ । यो समयमा जिम्मेवार निकाय र पदमा रहेका व्यक्तिले नै कोरोना केही होइन, बेसार पानीले नै ठिक गर्छ भन्ने अभिव्यक्ति दिए । लामो समयसम्म पनि सरकारले स्रोतसाधनको व्यवस्थापन गर्नेतिर ध्यान दिएन । अहिले स्वास्थ्य संस्थामा त्यसको असर देखिन थालेको छ ।

केही महिनाअघिसम्म इटाली स्पेनमा दैनिक सयौं नागरिकको कोरोनाबाट मृत्यु भएका खबर सुन्दै बसिरहेका नेपालीले अहिले त्यस्तै अवस्था आफै भोग्न थालेका छन् । संक्रमण अझै सरकारको नियन्त्रणबाहिर गएको छैन । बेलैमा ध्यान दिएर स्वास्थ्य उपचारका लागि पूर्वाधार तयार पार्न नसके मृत्युदर ह्वात्तै बढ्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *