Main News

नेपालमा तीन वटा कम्पनीको कोरोनाविरुद्धको खोप परीक्षण हुँदै, पहिला चिनियाँ खोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १५ गते २०:३८
नेपालमा तीन वटा कम्पनीको कोरोनाविरुद्धको खोप परीक्षण हुँदै, पहिला चिनियाँ खोप (भिडियोसहित)

१५ भदौ, २०७७, काठमाडौं । सरकारले चिनियाँ खोपको तेस्रो चरणको परीक्षणका लागि तयारी गरिरहेको छ । नेपालमा परीक्षण अनुमति पाएका तीन कम्पनी मध्ये चिनियाँ खोप शुरुवातमा परीक्षणमा जानेछ । अनुमति दिएका कम्पनीको परीक्षण नेपालमा कत्तिको उपयुक्त छ भन्नेबारे अनुसन्धान अझै सकिएको छैन ।

विश्वका ७ वटा कम्पनी कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायलको तेस्रो चरणमा छन् । त्यसमध्ये रसियन कम्पनी, चीनको होङ्सी कम्पनी र युकेको अक्सफोर्ड युनिभर्सिटी ग्रुपले नेपालमा खोपको क्लिनिकल परीक्षणको अनुमति पाइसकेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षणको सबै जिम्मेवारी लिएको छ । अनुमति दिएपनि खोप परीक्षणका लागि उपयुक्त छ छैन भन्ने अनुसन्धान भैरहेको छ ।

नेपालका लागि कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नयाँ कुरा हो । विश्वमा पहिलो र दोस्रो चरणमा सफल भएका खोप नेपाली नागरिकमा परीक्षण गरिनेछ । खोप परीक्षणको अनुमति दिएसँगै यसले पार्ने असरको विषयमा पनि छलफल भैरहेको छ । खोप लिन इच्छुक व्यक्तिको सुरक्षाको ख्याल गर्दै परीक्षण गरिनेछ ।

खोप परीक्षणको लागि अहिले चिनियाँ कम्पनीले स्पोन्सर गर्ने भनिसकेको छ । नेपालले अहिले पनि अन्य कम्पनीको खोप परीक्षणका लागि स्पोन्सर खोजिरहेको छ । खोप परीक्षण गर्ने भनिए पनि नेपालले सिमित व्यक्तिमा मात्रै परीक्षणको गरेको छ । त्यो परीक्षण कहिलेदेखि सुरु हुन्छ त ?

आवश्यक अनुसन्धानपछि नेपालमा छिट्टै कोरोना खोपको परीक्षण हुनेछ । विश्वका विभिन्न देशमा पनि खोपको परीक्षण भैरहेको छ । नेपालमा कुन खोप प्रभावकारी हुन्छ भन्ने थाहा पाउन परीक्षण अपरिहार्य छ । तर परीक्षणमा सहभागी हुनुअघि व्यक्तिको सुरक्षा सहित धेरै कुरामा सोचबिचार गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *