Main News

देशका विभिन्न स्थानमा गरिएको परीक्षणमा ३ सय जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १४ गते १२:४८
देशका विभिन्न स्थानमा गरिएको परीक्षणमा ३ सय जना कोरोना संक्रमित थपिए

१४ भदौ, २०७७, काठमाडौं । चितवनमा १०८, नारायणी अस्पतालमा ७९, प्रदेश १ मा १०८ र गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा गरिएको परीक्षणमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ४३ र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण देखिएको हो । भरतपुरमा ४ सय ७२ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जना रहेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा नितु अधिकारीले जानकारी दिनुभयो । त्यस्तै तनहुँका २, झापाका २, नवलपुर, सर्लाही, सप्तरी, दाङ, धनुषा, पाँचथर, कास्की, सुर्खेत, बागलुङ र बाराका एक एक जना कोरोना संक्रमित भएका अस्पतालले जनाएको छ ।

यस्तै चितवन मेडिकल कलेजमा परीक्षण गर्दा ६५ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । नयाँ संक्रमितमध्ये भरतपुरका २२, रत्ननगरका ३७, राप्तीका १ तथा नवलपुर, पाल्पा, तनहुँ र रुपन्देहीका एक एक छन् ।

यस्तै, नारायणी अस्पतालमा गएराति गरिएको परीक्षणमा थप ७९ जनामा संक्रमण देखिएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार पर्साका ४७ जना, बाराका ३०, मोरङ र काठमाडौंका एकएक जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा ६ महिने शिशुदेखि ९७ वर्षीय वृद्धसम्म छन् ।

पर्साका ४७ संक्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना र बाँकी वीरगंज महानगरपालिकाका विभिन्न वडाका छन् । यस्तै बाराका ३० संक्रमितमध्ये बिश्रामपुरका ३ , महागढीमाईका २ , जितपुरसिमराका २ र बाँकी संक्रमित कलैया उपमहानगरपालिकाका छन् ।

यसैगरी, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर महानगरपालिकाका ४३ जनामा संक्रमित थपिएका छन । प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशमा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकीमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

थपिएका संक्रमितमध्ये तीन जना कास्की र दुई जना नवलपुरका छन् । चितवनको मेडिकल कलेजमा कार्यरत नवलपरासी पूर्व मध्यबिन्दुकी एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *