Main News

उपत्यकामा कोरोना संक्रमित बढेसँगै ९ हजार शैया तयार गरिँदै

हिमालय टिभी
२०७७ भदौ १३ गते ८:१२
उपत्यकामा कोरोना संक्रमित बढेसँगै ९ हजार शैया तयार गरिँदै

१३ भदौ, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरसका सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएसका प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिनुभयो ।

उहाँले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त भइसकेको भन्दै बाँकी शय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिनुभयो । उक्त रकम भवनको भाडाबाहेक हो ।

उहाँले लक्षण नभएका सङ्क्रमित राख्न अहिले नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा दुई सय शय्या तयारी अवस्थामा रहेको र उक्त केन्द्र तीन सय शय्या सम्मको बनाउने योजना रहेको बताउनुभयो ।

यस्तै कीर्तिपुरस्थित आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० शय्या तयारी अवस्थामा छ ।

यस्तै इचङ्गुुनारायणमा रहेको आपत्कालीन भवनमा ५०० शय्या, यती अस्पतालमा ५० शय्या तयारी अवस्थामा छ ।

मन्त्रालयले जाउलाखेलमा रहेको स्टाफ कलेजमा सय, बालाजुस्थित जनमैत्री अस्पतालमा तीन सय, वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सय र कान्तिपुर अस्पताल तीनकुनेमा ५० शय्याको आइसोलेसन तयार गरी लक्षण नभएका सङ्क्रमितलाई राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *