Main News

प्रदेश ५ का १२ जिल्लामै वन अतिक्रमण तीव्र, सरकारले अतिक्रमण हटाउन सकेन (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १२ गते १६:५४
प्रदेश ५ का १२ जिल्लामै वन अतिक्रमण तीव्र, सरकारले अतिक्रमण हटाउन सकेन (भिडियोसहित)

१२ भदौ, २०७७ बुटवल । जथाभावी कब्जा गर्दा र मनपरी ढंगले सडक विस्तार गरेका कारण प्रदेश पाँचको वन क्षेत्र मासिँदै गएको छ । प्रदेश पाँचका १२ जिल्लामै वन अतिक्रमण भएको छ । कतिपय ठाउँमा वन मासेरै घनावस्ती नै बसिसकेका छन् ।

भू–माफियाले जंगल मासेर जमिन कब्जा गरी खरिद विक्रीसमेत गर्दै आएका छन् । यस्तो काम रुपन्देही, दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा दशक अघिदेखि निर्वाध चलिरहेको छ ।

प्रदेश पाँचको वन निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा ९ लाख ७४ हजार ३ सय ८१ हेक्टर वन क्षेत्र छ । त्यसमध्ये १३ हजार ३ सय २९.१४५ हेक्टर वन अतिक्रमण भइसकेको छ । यो संरक्षित क्षेत्रबाहेकको अतिक्रमित वन क्षेत्रको तथ्यांक हो । केही जिल्लामा डिभिजन वन कार्यालयले अतिक्रमित वन फिर्ता लिएको पनि छ । तर बन क्षेत्रमै घनावस्ती बस्दा र सडक बनाउँदा बन मासिदै गएको छ ।

सबैभन्दा बढी रुपन्देहीमा वन अतिक्रमण गरी घरटहरा बनाइएको छ । देवदह, बुटवल, सालझण्डी, गैडहवा क्षेत्रमा वन अतिक्रमण गरेर छ(सात तल्ले घर नै ठड्याइएको छ । देवदह, बुटवलसँगै दाङको भालुबाङमा सहरै बसेको छ ।

सुकुम्बासी र भूमिहीनको नाममा पनि वन अतिक्रमण बढेको छ । सुकुम्बासीका नाममा हुकुम्बासीको रजगज उसैगरी छ । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा वन अतिक्रमण बढी छ । सशस्त्र द्वन्द्वका बेला अझ बढी वन कब्जा गरेर बस्ती बसाल्ने काम भयो ।

वातावरणी प्रभाव मूल्यांकन नै नगरी पहाडमा जथाभावी वन क्षेत्रमा सडक विस्तार गर्ने काम तीव्र छ । जथाभावी खनिएको सडकका कारण ठूल्ठूला पहिरो जाँदा वन झन नासिँदै छ । चुरे दोहन पनि व्यापक छ ।

एकातिर अतिक्रमणले वन क्षेत्र घट्दै छ भने अर्कातिर वन फडानी गरेर चोरी निकासी गर्ने, डढेलो लगाउने जस्ता काम नागरिकस्तरबाट हुँदै आएको छ । यसले वातावरणमा असर त पारेकै छ मानव स्वास्थ्यमा नै प्रतिकुल प्रभाव पारिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *