समुदायमा कोरोना देखिएपछि आइतबारदेखि दाङमा पूर्ण लकडाउन हुने
१२ भदौ, २०७७, दाङ । दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई आइतबारदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ ।
घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो ।
आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितको बैठकले आइतबार १४ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
लकडाउन अवधिमा अत्याश्यक बाहेक सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्न बजारहरु पूर्ण रुपमा बन्द हुने भएका छन् । एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधनबाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् ।
यस्तै बैठकले जिल्लामा आरटी पीसीआर परीक्षणको दायरा बढाउने निर्णयसमेत गरेको छ । परीक्षण रिपोर्ट हेरेर जिल्लामा लकडाउनको अवधि थप गर्ने नगर्ने निर्णय हुने प्रजिअ रिजालले बताउनुभएको छ ।
समुदायस्तरमा कोरोना सं क्रमण फेला परेपछि घोराहीको नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल सील समेत गरिएको छ ।
प्रतिक्रिया