Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि लम्बियो

हिमालय टिभी
२०७७ भदौ १० गते १२:३८
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि लम्बियो

१० भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेका हुन् ।

गत बुधबार मध्यरातिबाट लागू भएको निषेधाज्ञा आज मध्यराति सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो रहेकाले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

गत सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी० र काठमाडौंका मेयरहरुबीच हिजो भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ(जाउ गर्न सक्नेछन् । होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् ।

निषेधाज्ञा अवधिमा बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *