कोरोनाविरुद्धको खोप परीक्षणका लागि नेपालद्वारा तीन वटा कम्पनीसँग प्रस्ताव
९ भदौ, २०७७, काठमाडौं । कोरोना भाइरसविरुद्ध बनाइएको खोपको परीक्षणका लागि नेपालले तीन वटा कम्पनीलाई प्रस्ताव गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले खोप निर्माण गरी परीक्षणको तेस्रो चरणमा पुगेका विश्वका सात वटा कम्पनी मध्ये तीन वटालाई प्रस्ताव गरेको हो ।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले रुस, चीन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको खोपको तेस्रो चरणको परीक्षणकालागि प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
तेस्रो चरणको परीक्षणका लागि केही प्रक्रिया पुरा गर्नु पर्ने सदस्यसचिव ज्ञवालीले बताउनुभयो । ‘सेन्ट्रल इथिकल रिभ्यु बोर्ड’ अन्तर्गत विभिन्न विषय विज्ञ सहितको स्वतन्त्र समुहले छलफल गरेपछि मात्रै परीक्षणका लागि स्विकृति दिइने उहाँले बताउनुभयो ।
परिषद्ले खोपको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयसँग पनि छलफल भइरहेको जनाएको छ ।
प्रतिक्रिया