राजनीति

नेकपाका दुई अध्यक्षबीचको संघर्ष अन्त्य गर्न कार्यदलको चार बुँदे प्रस्ताव

हिमालय टिभी
२०७७ भदौ ८ गते १८:५४
नेकपाका दुई अध्यक्षबीचको संघर्ष अन्त्य गर्न कार्यदलको चार बुँदे प्रस्ताव

८ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अधिकार बाँडफाँडको संघर्ष अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले ‘कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पार्ने’ शीर्षकनै राखेर दुई अध्यक्षको अधिकारबारे समाधान खोज्न भनेको छ ।

कार्यदलले प्रतिवेदनमा पारस्परिक विश्वास, सहमति, विधान र पद्धतिअनुरूप समस्या समाधान गर्न सुझाब दिएको छ । दुई अध्यक्षीय व्यवस्थाको समझदारीपूर्ण एवं प्रभावकारी कार्यान्वयन नहुँदा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेको’ कार्यदलको निष्कर्ष छ ।

एउटा समस्या समाधान गरेको केही समयपछि फेरि नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको र यसको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परेको भन्दै कार्यदलले स्पष्ट कार्यविभाजन अगाडि सारेको हो ।

पार्टी विधान बमोजिम बैठक बस्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने’ कार्यदलको प्रस्ताव छ ।

अधिकार बाँडफाँडलाई प्रष्ट पार्दै कार्यदलले ओली पूर्ण कार्यकाल प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी अध्यक्ष हुने उल्लेख छ ।

एकतापछि उत्पन्न चुनौती सामना गर्ने विषयमा आवश्यक ध्यान दिन नसकिएको भन्दै प्रतिवेदनमा पार्टीको एकता नै संकटमा पर्नेगरी अन्तरविरोध सिर्जना हुँदै गएको स्वीकार गरिएको छ । पार्टी विभाजन र सर्वनासतर्फ धकेलिने अवस्थासम्म पुगेको पनि कार्यदलको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्