नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण शुरु हुँदै
८ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्ध विश्वका विभिन्न देशमा बनेका खोपको नेपालमा पनि परीक्षण गर्न लागिएको पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपाल स्वास्थ्य परिषदको मापदण्ड अनुसार नै खोप परीक्षणका लागि अनुमति दिएको बताउनुभयो । उहाँका अनुसार स्वयंसेवकले परिक्षणमा सहभागिता जनाउन सक्नेछन् ।
मन्त्रालयले कुन देशको खोप अहिले परीक्षण गर्न लागेको भन्नेबारे जानकारी दिएको छैन । यद्यपि चीन सरकारले आफूले बनाएको खोपको तेस्रो चरणको परीक्षणका लागि नेपाललाई आग्रह गर्दै पत्र पठाएको बताइएको छ ।
चीनमा संक्रमितको संख्या न्युन भएकाले नेपाल लगायतका देशमा तेस्रो चरणको परीक्षण गर्ने तयारी छ । सोही अनुसार नेपाल सरकारले पनि अनुमति दिएको बताइएको छ ।
यसको थप प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया