राजनीति

नेकपामा ‘भारतीय एजेण्ट’को आरोप–प्रत्यारोपः खोइ त जवाफ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ७ गते २०:१७
नेकपामा ‘भारतीय एजेण्ट’को आरोप–प्रत्यारोपः  खोइ त जवाफ ? (भिडियोसहित)

७ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद समाधान कार्यदलले प्रतिवेदन बुझाएसँगै पार्टी एकताको रक्षा भएको र समस्या समाधान भैसकेको दावी गरिएको छ ।

कार्यदलमा पार्टी भित्रैका तीनै गुटको प्रतिनिधित्व रहेकोले पनि समस्या समाधान भएको दावी गरिएको छ । तर पार्टी भित्र जसरी जे विषयमा विवाद भयो र त्यसले जे जस्ता तरंग उत्पन्न गर्यो ? ती मध्ये कतिपय विषयको जवाफ नै आएको छैन । त्यो मध्ये एक हो भारतीय एजेण्ट को ?

नेकपाको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णुप्रसाद पौडेलको दावी छ, विवाद समाधान भयो । तर पौडेलले विवाद समाधान भयो भने पनि नेपाली जनताले केही विषयको जवाफ पाएका छैनन, त्यो मध्ये एक हो भारतको ईशारामा पार्टीकै नेताहरु मलाई हटाउन लागे भन्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आरोप ।

अर्थात पार्टी भित्र भारतीय एजेण्ट को हो ? भन्ने जवाफ आएको छैन । पार्टीकै नेताहरु भारतको ईशारामा चलेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपबाट यो श्रृंखला शुरु भएको थियो । तपाइँले भुल्नुभएको छैन भने असार १४ गते यसरी ओलीले प्रचण्ड–र माधवकुमार नेपाल लगायतका नेताहरुमाथि फायर खोल्नुभएको थियो ।

असार १४ गते यसरी सार्वजनिक कार्यक्रममै ओलीले यसरी बोलेपछि असार १६ गते स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले त्यसको प्रतिवाद गरे । त्यहाँ पनि ओलीले दिल्लीले चाहे जस्तै तपाइँहरुका गतिविधि मिलेर भनेर जवाफ फर्काउनुभयो ।

अर्थात बैठकमै ओलीले भारतीय ईशारामा अरु नेता आफू विरुद्ध लागेको भन्ने आफ्नो मतमा अडिग रहनुभया । त्यतिमात्रै होईन, प्रचण्ड र नेपाल लगायतका नेताविरुद्ध ओलीले आफू निकट कार्यकर्तालाई सडकमा उतार्नुभयो । जहाँ प्रचण्ड र नेपाल लगायतका नेताहरुलाई ओलीका कार्यकर्ताले भारतीय दलाल करार गरे । केही समय यस्ता प्रदर्शनहरु भैरहे ।

जसरी ओलीले प्रचण्ड–नेपाल लगायतका नेताहरुलाई ओली सहित उहाँ निकट नेता कार्यकर्ताले भारतीय दलाल भने ओलीमाथि पनि प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताको यस्तै आशंका थियो । प्रचण्डले सार्वजनिक रुपमै ओलीमाथि नक्साको विषयलाई लिएर प्रश्न उठाउँदै आफू माथिको आरोपको प्रतिवाद गर्नुभयो ।

अर्थात ओलीनै भारतको ईशारामा चलिरहेको प्रचण्ड नेपाल समूहको आरोप थियो । भारतमा जसरी ओलीको विरोध भैरहेको थियो, त्यो डिजाईन हो । र, उद्देश्य ओलीलाई राष्टवादी देखाएर सत्तामा टिकाईराख्ने उसको योजना छ भन्ने प्रचण्ड नेपाल समूहको बुझाई थियो ।

अहिले कार्यदल बनेपछि नेकपाको विवाद मिलेको भनिएको छ, तर यसरी मिल्नुभन्दा अगाडि एकअर्कामाथि लगाइएका लाञ्छना र आरोपको कुनै जवाफ दिइएको छैन । त्यसको लामै सूचि बन्न सक्छ । तर भारतीय एजेण्टको आरोप त्यसमध्येको गम्भीर विषय हो । किन उनीहरुले एक अर्कालाई भारतको ईशारामा चलेको आरोप लगाए, त्यसको जवाफ दिनुपर्दैन ? त्यो सही वा गलत के थियो भन्नुपर्दैन ? कि आफ्नो राजनीतिक रोटी सेक्न राष्टवादको नाममा जे गरेपनि हुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्