Main News

कोरोनाको भ्याक्सिन र औषधिमा भइरहेको अनुसन्धानमा नेपालको चासो (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ७ गते २०:०३
कोरोनाको भ्याक्सिन र औषधिमा भइरहेको अनुसन्धानमा नेपालको चासो (भिडियोसहित)

७ भदौ, २०७७ काठमाडौं । कोरोनाभाइरस विरुद्धको भ्याक्सिन तथा उपचारका लागि औषधीको खोजीमा विश्व नै लागि परेको छ । त्यसैले कोरोना महामारीको यो अवस्थामा भ्याक्सिन र औषधिको अनुसन्धानले केही आशा थपेको छ ।

९ महिनाअघि चीनको बुहानमा पहिलोपल्ट देखिएको कोरोना भाइरस संक्रमणका कारण अहिले विश्व नै प्रभावित छ । नेपालमा पनि कोरोना संक्रमण र मृत्यु दुवै बढ्दै गएको छ ।

कोरोना महामारीबाट पार पाउने उपाय खोज्न यतिबेला विश्व समुदाय नै जुटिरहेको छ । रुस लगायतका केही देशले खोपनै बनाएको दावी गर्दै आएका छन् । अन्य केही देशले पनि खोप र औषधिको अनुसन्धान गरिरहेका छन । र विश्वमा भइरहेका यी खोजमा पनि नेपालले चासो राखिरहेको छ छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा विभिन्न देशमा बनिरहेको कोरोना भ्याक्सिनको बारेमा समन्वय गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति लिएको छ । उसले चीन, बेलायत लगायतका देशले भ्याक्सिन र औषधिका लागि गरिरहको खोजमा चासो राख्दै आएको छ ।

विश्व स्वास्थ्य संगठन डव्लुएचओले विभिन्न देशमा बनेका भ्याक्सिन र कुनै पनि औषधि स्वीकृत गरेको छैन । तर पनि नेपालमा प्लाज्मा थेरापी र रेमडिसिभिर औषधीको माध्यमबाट कोरोना संक्रमितको उपचार गर्न अनुसन्धान भैरहेको छ ।

सरकारले एक सय जना संक्रमितमा रेमडिसिभिर औषधीको परीक्षण गर्ने तयारी गरिरहेको छ । एक जना संक्रमित प्लाज्मा थेरापीबाट निको भएसँगै अहिले अरु कोरोना संक्रमितमा पनि प्लाज्मा थेरापीको प्रयोग भैरहेको छ । रेमडिसिभिर र प्लाज्मा थेरापी दुवैको मापदण्ड समेत सरकारले बनाएको छ । यी दुवै विधिले संक्रमितको उपचारमा सकारात्मक परिणाम दिने आशा छ ।

प्लाज्मा थेरापीका लागि सरकारले निर्देशिका नै बनाएर काम थालिसकेको छ । रेमडिसिभिरका लागि पनि औषधी व्यवस्था विभागले अनुमति दिइसकेको छ । अहिले रेमडिसिभिर औषधी भने सबै ठाउँमा पाइँदैन, यो सरकारको नियन्त्रणमा रहने र संक्रमितलाई निशुल्क रुपमा उपलब्ध गराउने सरकारको तयारी छ ।

कोरोना संक्रमण समुदायमै फैलिएको यो बेलामा कोरोनाको भ्याक्सिन बनाउन विश्वमा भैरहेको प्रयास र नेपाल आफै‌ले गरेका केही प्रयोगले निराशाकाबिच पनि आशा भने थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *