अलपत्र नेपाली लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान दुबई प्रस्थान

७ भदौ, २०७७ काठमाडौं । दुबई विमानस्थलमा अलपत्र नेपालीलाई लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यसतर्फ उडेको छ ।
यसअघि शुरु हुने भनिएको चार्टर्ड उद्धार उडान रोकिएपछि दुबई विमानस्थलमा नेपाल आउने टीकट काटेका नेपाली अलपत्र परेका थिए ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज दुबईबाट २ सय ६० भन्दा बढी यात्रु लिएर आज साँझ काठमाडौं आइपुग्ने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं(दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो ।
निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।
त्यस दिन काठमाडौंबाट २ सय ३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै फर्किएको थियो । तर हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो। मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।
कोभिड(नाइन्टिन महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५ सय यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ।
यसबाहेक आजै नेपालीलाई स्वदेश फर्काउन थप चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सले दुबईबाट थप दुई र हिमालय एयरलाइन्सले चीनको कुनमिङमा दुई उडान गर्नेछन् ।
प्रतिक्रिया