Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३ गते २०:३३
काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ? (भिडियोसहित)

३ भदौं, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा आज रातीबाट निषेधाज्ञा लाग्दैछ । तीन वटै जिल्ला प्रशासनले आज रातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा र गतिविधि बन्द गर्न निर्देशन दिएका छन् । यो निर्देशन अनुसार अब एक हप्तासम्म काठमाडौंमा के के गर्न पाइन्छ र के के पाइँदैन ।

निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक अरु कुनै पनि काममा कोही पनि घरबाट बाहिर निस्कन पाइँदैन ।

यस्तै अत्यावश्यक सेवा र वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय पनि बन्द रहने छन् ।

मालबाहक ढुवानीका सवारी साधन, बिरामी तथा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र सञ्चार माध्यमले प्रयोग गर्ने सवारी साधन बाहेक अरु कुनै पनि सवारी साधन उपत्यका प्रवेश गर्न पाउने छैनन् ।

मेला, महोत्सव, जात्रा, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न पाइने छैन । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युशन सेन्टर, भाषा कक्षा लगायतका क्रियाकलाप सञ्चालन गर्न पाइनेछैन ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न पाइदैन ।

फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरा समेत सञ्चालन गर्न पाइने छैन ।

परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन् ।

के गर्न पाइन्छ ?
अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

कोरोना रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिइनेछ ।

बैंकिङ सेवाका लागि न्युनतम कर्मचारी राखेर सेवा प्रवाह गर्न पाइनेछ । बैंकलाई पनि सकेसम्म भर्चुअल वा बिद्युतीय माध्यबाट सेवा दिन निर्देशन दिइएको छ ।

अत्यावश्यक सेवाका लागि घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्न समेत निर्देशन दिएको छ ।

हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखेरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानून बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *